काठमाडौँ । बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन् ।
यस्तो दुःख र कठिनाइको समयमा एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। देश पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा यस योगदानमार्फत एमएडब्ल्यू ग्रुपले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ ।
फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको र पुनःस्थापनाको यात्रा सहज नहुने एमएडब्ल्यू ग्रुपले जनाएको छ । प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने समूहले विश्वास लिएको छ।
यस योगदानबारे बोल्दै एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको बताए । उनले मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन नसक्ने भन्दै अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने आशा व्यक्त गरे ।
नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्ल्यू ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको जनाएको छ। यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता भएको समूहले जनाएको छ ।
कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।
एमएडब्ल्यू ग्रुपले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । साथै, देशभर राहत तथा उद्धार कार्यमा अथक रूपमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
