काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भाद्र १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
भाद्र १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो।
बैंकले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।
यसैबीच, प्रभु बैंकले बाढी तथा अन्य विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्कविहीन तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेको जनाएको छ।
