सर्लाहीमा वैदेशिक रोजगारीका नाममा ठगिएको १२ लाख रुपैयाँ प्रशासनको पहलमा फिर्ता

वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने आश्वासन दिएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् ।

ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो (नथुनी महतो)ले मौरिससमा वैदेशिक रोजगारी लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए ।

रकम बुझाएको लामो समय बितिसक्दा पनि उनले न रोजगारीका लागि विदेश पठाए, न त लिएको रकम फिर्ता गरेपछि पीडितहरूले आफू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

राकेशले मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवबाट मौरिसस पठाउने प्रलोभनमा कुल १२ लाख रुपैयाँ लिएको बताइएको छ ।

पीडितहरूको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुवै पक्षलाई कार्यालयमा बोलाएर आवश्यक छलफल तथा समन्वय गरेको थियो ।

प्रशासनको रोहवरमा भएको छलफलपछि राकेश महतोका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगीका घटना बढिरहेका बेला प्रशासनको पहलमा पीडितहरूले रकम फिर्ता पाउनु राहतको विषय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न र वैधानिक माध्यमबाट मात्रै प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।