काठमाडौं । अमेरिका र क्यानडाबीच लामो समयदेखि जारी व्यापार तनाव थप चर्किएको छ । अमेरिकाले क्यानडाबाट आयात हुने मदिराजन्य पेय पदार्थ, मोटरसाइकल तथा विभिन्न डोरीजन्य वस्तुमाथि नयाँ आयात प्रतिबन्ध घोषणा गरेपछि दुई देशबीचको व्यापार विवाद थप गहिरिएको हो ।
ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित सूचनाअनुसार अमेरिकाले घोषणा गरेको नयाँ आयात प्रतिबन्ध आगामी सेप्टेम्बर २९ देखि लागू हुनेछ । क्यानडाले अमेरिकी सामानमा लगाएका प्रतिबन्धात्मक कर मंगलबार मध्यरातदेखि लागू गरेलगत्तै अमेरिकाले पनि कडा व्यापारिक कदम चालेको हो ।
गत महिना अमेरिकाले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानेडियन सामानमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको व्यापारिक तनाव थप बढेको थियो । व्यापार विवाद समाधानका लागि भएका पटक–पटकका वार्ता तथा प्रयास सफल हुन नसकेपछि अमेरिकाले उक्त कर लागू गरेको थियो । पछिल्लो घटनाक्रमले दुई छिमेकी तथा लामो समयदेखि सहयोगी राष्ट्रबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारका अन्य विकल्प खोज्न आग्रह गरेका छन् ।
ह्वाइट हाउसका अनुसार अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको सूचीमा बियर, वाइन, ह्विस्की, बोर्बन, रम, भोड्का, टिमिला, ब्रान्डी लगायत अधिकांश मदिराजन्य उत्पादन समेटिएका छन् । ह्वे प्रोटिन, मोलान्सेस तथा मदिरारहित बियरसमेत प्रतिबन्धित वस्तुको सूचीमा राखिएका छन् ।
त्यस्तै, विभिन्न प्रकारका चिजलाई पूर्ण रूपमा प्रतिबन्ध नगरिए पनि ५० प्रतिशत कर लाग्ने वस्तुको सूचीमा राखिएको छ । कागज, आल्मुनियम, काठ, फर्निचर तथा प्रकाशसम्बन्धी सामग्री लगायतका उत्पादनसमेत नयाँ करको दायरामा समेटिएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सवारी साधनमा लगाइएको कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउने यसअघिको चेतावनीसमेत आगामी जनवरी १ देखि कार्यान्वयन हुने भएको छ ।
अमेरिकामाथि आर्थिक तथा राजनीतिक दबाब बढाउने उद्देश्यले क्यानडाले पनि अमेरिकी सामानमा प्रतिकारात्मक कर लगाएको छ । क्यानडाली अधिकारीहरूले अमेरिकाले मंगलबार गरेको कडा निर्णयका पछाडि क्यानडाको प्रतिकारात्मक कदमसमेत प्रमुख कारण रहेको बताएका छन् ।
क्यानडाले स्टिल, फर्निचर, लत्ताकपडा तथा विद्युतीय सामग्री लगायत करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुमा १५ देखि ५० प्रतिशतसम्म कर लगाएको छ । आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि क्यानडाको कदमले ओहायो र मिसिगनजस्ता प्रतिस्पर्धी राज्यका व्यापारिक क्षेत्रमा प्रभाव पार्न सक्ने देखिएको छ ।
सरकारी तथ्यांकअनुसार यस वर्ष क्यानडाले आफ्नो कुल निर्यातको करिब ६८ प्रतिशत हिस्सा अमेरिकातर्फ पठाएको छ । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी निर्यात अमेरिका–मेक्सिको–क्यानडा त्रिपक्षीय सम्झौता अन्तर्गत कर छुटको दायरामा पर्छ । तर, गत महिना अमेरिकी कानुनअन्तर्गत लागू गरिएका नयाँ करमा उक्त सम्झौताअन्तर्गतको छुट लागू नहुने व्यवस्था गरिएको छ ।
यसले अमेरिका र क्यानडाबीचको व्यापार सम्बन्धमा थप चुनौती सिर्जना गरेको छ भने दुई देशबीचको आर्थिक निर्भरता र व्यापारिक सम्बन्धलाई नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ ।
