नेपाल बैंकका कर्मचारीलाई राष्ट्रिय जीवनको जीवन बीमा

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र राष्ट्रिय जीवन बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत सबै सक्रिय कर्मचारीलाई जीवन बीमा सुविधा प्रदान गरिनेछ। यसबाट कर्मचारी तथा उनीहरूको परिवारलाई सम्भावित व्यक्तिगत जोखिमबाट वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य राखिएको छ।

कर्मचारीको सुरक्षा, वित्तीय स्थायित्व तथा दीर्घकालीन हितलाई ध्यानमा राखेर बीमा सुविधा अघि बढाइएको हो। संस्थागत रूपमा कर्मचारीको कल्याणलाई प्राथमिकता दिँदै जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षरका क्रममा दुवै संस्थाका प्रतिनिधिहरूले कर्मचारीको कल्याण र उनीहरूको परिवारको दीर्घकालीन भविष्य सुरक्षित गर्न जीवन बीमाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाल बैंक र राष्ट्रिय जीवन बीमाबीचको यस सहकार्यले कर्मचारीको सुरक्षासँगै दुवै वित्तीय संस्थाबीचको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, यसले आगामी दिनमा दुई संस्थाबीच थप सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।