मिथिलाका लोकनाच हराउँदै

हरेक वर्ष मिथिलाञ्चलका गाउँघरमा आयोजना हुने मेला र उत्सवमा कुनै समय लोकनाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्थ्यो। मिथिलामा आयोजना हुने इन्द्र पूजा होस् वा महावीर झण्डा, हरेक मेला-उत्सवमा मनोरञ्जनको साधनका रूपमा लोकनाच प्रस्तुत गरिन्थ्यो।

ग्रामीणदेखि सहरी क्षेत्रका नागरिकका लागि समेत लोकनाच मेलामा मनोरञ्जनको प्रमुख माध्यम थियो। लोकनाच आयोजना हुने स्थानमा राति र दिउँसो दर्शकको ठूलो भीड लाग्ने भएकाले यसले ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने गरेको थियो।

लोकनाच कलाकारका लागि जीविकोपार्जनको माध्यम थियो भने स्थानीयवासीका लागि आफ्नो गौरवशाली गाथा, लोकविश्वास र सांस्कृतिक परम्परासँग जोडिएको उत्सव। लोकनाचमा प्रस्तुत गरिने विषयवस्तु विगतमा मिथिलाका गाथा र परम्परासँग जोडिएका हुन्थे। वीर रसदेखि हास्य र मनोरञ्जनका विषयसमेत त्यसमा मिसाइन्थे। यसले मनोरञ्जनसँगै प्राचीनकालदेखि चल्दै आएका मिथिलाका गौरवगाथा स्मरण गर्ने माध्यमको काम गर्थ्यो।

मिथिलाञ्चलमा मनोरञ्जनका माध्यम फेरिएसँगै गाउँ-गाउँबाट लोकनाच हराउन थालेका छन्।

यस्ता कथा, गीत र प्रस्तुतीकरण एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका थिए। कुनै समय मिथिलाका गाउँ(गाउँमा चाडपर्व, विवाह, धार्मिक अनुष्ठान र सामाजिक उत्सव लोकनाचबिना अधुरा जस्तै हुन्थे। गाउँमा बाजा बज्न थालेपछि बालबालिकादेखि वृद्धसम्म जम्मा हुन्थे। कलाकारहरू परम्परागत भेषभूषामा सजिएर नाच्थे, गीत गाउँथे र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको कथा, संस्कार र सामाजिक जीवन प्रस्तुत गर्थे।

तर पछिल्ला वर्षमा मिथिलाका यस्ता मौलिक लोकनाच क्रमशः ओझेलमा पर्दै गएका छन्। मिथिलाञ्चलमा मनोरञ्जनका माध्यम फेरिएसँगै गाउँ(गाउँबाट लोकनाच हराउन थालेका छन्। कलाकारहरूले आर्थिक उपार्जनको स्थायी आधार नदेखेपछि यो पेसाबाट विस्तारै पलायन हुन थाले। त्यससँगै गाउँमा रहेका नाचका समूह पनि बन्द हुँदै गए।

अहिले खोज्दा एकाध लोकनाचका समूह मात्रै भेटिन्छन्। करिब १० वर्षअघिसम्म धेरैजसो गाउँमा एउटा(एउटा नाच कम्पनी हुने गरेको कलाकारहरू बताउँछन्  ती कम्पनीमा १० देखि २० जनासम्म कलाकार हुन्थे। उनीहरू मेला, उत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रममा पुगेर नाच प्रस्तुत गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने गर्थे।

फेरिए मनोरञ्जनका माध्यम

मिथिलाको सामाजिक जीवनमा आएको परिवर्तनसँगै मनोरञ्जनका माध्यम पनि फेरिएका छन्। केही समयअघिसम्म सहरी क्षेत्रमा खुलेका सिनेमा हल मनोरञ्जनका प्रमुख साधन थिए। अहिले भने हातहातमा मोबाइल फोन, सामाजिक सञ्जाल, टेलिभिजन, डिजिटल संगीत र आधुनिक सांस्कृतिक कार्यक्रमले परम्परागत लोकनाचका लागि उपलब्ध स्थान साँघुरो बनाउँदै लगेका छन्।

साहित्यकार श्यामसुन्दर शशिका अनुसार सामाजिक उल्लास र लोकसंस्कृति संरक्षणमा लोकनृत्यको महत्वपूर्ण स्थान थियो। लोकनाच मनोरञ्जनको साधनसमेत रहेको उनले बताए।

मिथिलामा अल्हारुदल, लवहरिकुशहरि, रानी शरंगा, सती बिहुला, जटजटिन, सीतवसन्त, डोमरुवा, बारहमासा, लगनी र झिझियाजस्ता लोकनाच प्रचलित थिए ।

आधुनिक मनोरञ्जनका विभिन्न साधन आएपछि लोककला र संस्कृतिमा ग्रहण लागेको उनले बताए। उनका अनुसार लोकनाचलाई सांस्कृतिक सम्पदाका रूपमा भन्दा मनोरञ्जनको साधनका रूपमा मात्र लिन थालिएकाले संरक्षणमा समस्या देखिएको हो।

पहिले गाउँमा हुने विवाह, पूजा, जात्रा तथा पर्वमा स्थानीय कलाकारलाई बोलाएर लोकनाच प्रस्तुत गरिन्थ्यो। अहिले त्यस्ता कार्यक्रमहरूमा डिजे, आधुनिक गीत तथा स्टेज कार्यक्रमको प्रयोग बढेको छ।

मिथिलामा अल्हारुदल, लवहरिकुशहरि, रानी शरंगा, सती बिहुला, जटजटिन, सीतवसन्त, डोमरुवा, बारहमासा, लगनी र झिझियाजस्ता लोकनाच प्रचलित थिए। यीमध्ये कतिपय लोकनाच अहिले निकै कम देखिन थालेका छन्।

नयाँ पुस्तामा हस्तान्तरणको चुनौती

लोकनाचको संरक्षणमा देखिएको सबैभन्दा ठूलो चुनौती नयाँ पुस्तामा यसको ज्ञान हस्तान्तरण नहुनु रहेको कलाकार तथा संस्कृतिकर्मी बताउँछन्। कलाकारहरूले लोकनाचबाट जीविकोपार्जन गर्ने सम्भावना नदेखेपछि आफ्ना सन्तानलाई समेत यो पेसामा लाग्न प्रेरित नगरेको अवस्था छ।

लोकनाचमा लागेका कतिपय कलाकारसमेत भारतको पञ्जाब र हरियाणामा मजदुरीका लागि पलायन भएका छन्। त्यसले गाउँ-गाउँमा रहेका नाच कम्पनी बन्द हुन पुगेका छन्।

महोत्तरीको औरही गाउँपालिकास्थित तिलगढमा रहेको नाच कम्पनीका कलाकार राम लोचन यादवले विगतमा आफू लोकनाच ‘अल्हारुदल’मा रुदलको भूमिका खेल्दै आएको बताए। आफ्नै अगाडि धेरै नाच कम्पनी बन्द भएको उनले बताए।

पुरानो पुस्ताका कलाकारसँग नाचका गीत, चाल, भेषभूषा र प्रस्तुतीकरणको ज्ञान भए पनि त्यसलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने काम पर्याप्त हुन सकेको छैन।

‘‘धेरै कलाकार पलायन भए। मलाई पनि धेरैले छाड्न दबाब दिए। तर छाडेर के गरौँरु जति दिन चल्दै छ, काम गर्दै छु। शरीर पनि थाक्छ, विस्तारै छाड्छु,’’ उनी भन्छन्, ‘‘कलाकारलाई पैसाको कुरा त परै जाओस्, सम्मानसमेत छैन। यस्तो अवस्थामा कसले आफ्नो सन्तानलाई यस पेसामा ल्याउँछरु अहिलेका युवालाई यसतर्फ लाग्नुभन्दा वैदेशिक रोजगारी सहज भएको छ।’’

नाच कम्पनीका सञ्चालक प्रमोद यादवले एउटा रातको कार्यक्रमबाट दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। तर उक्त रकममा कलाकारसहित अन्य खर्चसमेत जोडिने भएकाले सबै रकम कम्पनीको आम्दानी नहुने उनले बताए। लोकनाचका लागि परम्परागत बाजागाजासमेत आवश्यक पर्ने र ती बाजा बजाउने मानिसको संख्या घट्दै जानु अर्को चुनौती बनेको उनको भनाइ छ।

परम्परागत लोकनाच सिकाउने गुरु, कलाकार र वाद्यवादकको संख्या पनि घट्दै गएको छ। पुरानो पुस्ताका कलाकारसँग नाचका गीत, चाल, भेषभूषा र प्रस्तुतीकरणको ज्ञान भए पनि त्यसलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने काम पर्याप्त हुन सकेको छैन।

एक पुस्ताले अर्को पुस्तालाई सिकाउन नसक्दा केही लोकनाचसँग सम्बन्धित मौलिक गीत र प्रस्तुतीकरण शैली हराउने जोखिम बढेको छ।

लोकनाचको विकास र निरन्तरतामा माओवादी द्वन्द्वका समयसमेत असर परेको कलाकारहरू बताउँछन्। द्वन्द्वका क्रममा राति अबेरसम्म लोकनाच देखाउन रोक लगाइएपछि नाच कम्पनीको आम्दानी घटेको र कलाकारहरू पलायन हुन थालेको उनीहरूको भनाइ छ।

कलाकारहरूले प्रयोग गर्ने परम्परागत पोसाकलाई समेत सुरक्षा जाँचका क्रममा दुःख दिने गरिएको उनीहरू बताउँछन्। यसले गर्दा कलाकारलाई यो पेसामा टिकिरहन कठिन भएको र उनीहरूले विस्तारै अन्य पेसा रोजेको बताइन्छ। नाट्यकर्मी उपेन्द्र भगत नागवंशीका अनुसार २०५० सालतिर मधेस(मिथिलामा लोकनाच निकै चलेको थियो। त्यसपछि भने यसको विस्तारै ह्रास आउन थालेको उनले बताए।

लोकनाच बन्द हुनु भनेको जीवित संस्कृति हराउनु हो। यसतर्फ विभिन्न निकायको ध्यान जान जरुरी छ।

कलाकारहरू पलायन हुनु र जीविकोपार्जनका लागि अन्य माध्यम रोज्नुले अहिलेको अवस्था आएको उनले बताए। कलाकारका लागि आर्थिक स्रोतको अभाव हुँदै गएपछि लोकनाचका कलाकार पलायन भएको र लोकनाचका कम्पनीहरू बन्द भएको उनको भनाइ छ।

‘‘पहिले हरेक गाउँमा लोकनाचका कम्पनी हुन्थे। उनीहरू मेलामा नाच देखाउने ठेक्का लिन्थे र कलाकारलाई रकम दिने गर्थे,’’ उनी भन्छन्, ‘‘मधेसमा पहिले करिब दुई सयभन्दा बढी कम्पनी थिए।’’ कलाकारहरूलाई संगठित समूह बनाएर ठेक्का लिएर लोकनाच प्रस्तुत गर्ने समूहलाई ‘कम्पनी’ भन्ने गरिएको उनले बताए।

लोककलाकारको आर्थिक अवस्था पनि लोकनाच संरक्षणको अर्को चुनौती बनेको छ। धेरै कलाकारले लोकनाचलाई व्यावसायिक पेसाका रूपमा निरन्तरता दिन सक्ने अवस्था छैन।

अहिले कतैकतै लोकनाच प्रस्तुत गरिए पनि आगामी केही वर्षमा त्यो पनि हराउने अवस्था रहेको नागवंशीले बताए। साहित्यकार नित्यानन्द मण्डलका अनुसार नाच हराउनु एउटा प्रस्तुतीकरण हराउनु मात्र होइन, त्यससँग जोडिएका मौखिक इतिहास र सांस्कृतिक स्मृतिको एउटा हिस्सा हराउनु पनि हो।

आउँदो पुस्ताले यस नाचका विषयमा कसरी जानकारी पाउने भन्ने प्रश्न महत्वपूर्ण रहेको उनले बताए। लोकनाच जीवित संस्कृति भएकाले यसको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ छ। ‘‘लोकनाच बन्द हुनु भनेको एउटा जीवित संस्कृति हराउनु हो। यसतर्फ विभिन्न निकायको ध्यान जान जरुरी छ,’’ उनी भन्छन्।

लोककलाकारको आर्थिक अवस्था पनि लोकनाच संरक्षणको अर्को चुनौती बनेको छ। धेरै कलाकारले लोकनाचलाई व्यावसायिक पेसाका रूपमा निरन्तरता दिन सक्ने अवस्था छैन।

कार्यक्रम पाए मात्र प्रस्तुति दिने र अन्य समयमा अन्य पेसामा निर्भर हुनुपर्ने अवस्था छ। स्थानीय तह तथा सरकारी निकायले सांस्कृतिक कार्यक्रम आयोजना गरे पनि नियमित प्रशिक्षण, कलाकारको अभिलेख, अनुसन्धान र पारिश्रमिकको स्थायी व्यवस्था हुन नसकेको कलाकारहरूको गुनासो छ।

लोकनाचसँग जोडिएको पुरानो पुस्ता विस्तारै विस्थापित हुँदै जाँदा नयाँ पुस्तामा यसको हस्तान्तरण पनि कमजोर हुँदै गएको छ। त्यसैले मिथिलाको मौलिक लोकनाचलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

 

 

नेपाल न्यूजबाट साभार