साताको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज -नेप्से परिसूचक २० अंकभन्दा बढीले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ बिन्दुमा झरेको छ। बजारसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स .।४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंकले घटेका छन्।
बजार परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएको हो।
सोमबारको बजारमा सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमध्ये अधिकांश ऋणपत्र रहेका छन्। १०।३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै, १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य करिब ५ प्रतिशतले बढेको छ।
यता, कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सोमबार सर्वाधिक ५।८४ प्रतिशतले घटेको छ। बजारमा बिक्री चाप बढ्दा जलविद्युतसहित विभिन्न उपसमूहका कम्पनीमा दबाब देखिएको हो।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार हुँदा शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
सोमबार १३ उपसमूहमध्ये एउटा मात्र उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा वित्त उपसमूह सर्वाधिक १.१० प्रतिशतले घटेको छ।
त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्। अधिकांश उपसमूहमा आएको गिरावटले समग्र बजार परिसूचकलाई दबाबमा राखेको देखिन्छ।
पछिल्ला कारोबार दिनमा निरन्तर घटिरहेको बजारमा सोमबार कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेकाले लगानीकर्ताको सक्रियता केही कमजोर देखिएको छ। नेप्से २ हजार ५६६.७६ बिन्दुमा झरेसँगै आगामी कारोबारमा बजारले कुन दिशा लिन्छ भन्नेमा लगानीकर्ताको चासो बढेको छ।
