बागमती प्रदेश सरकारद्धारा प्रदेश दुग्ध विकास बोर्ड खारेजको सन्दर्भमा संयुक्त प्रेस विज्ञप्ति

यस बागमती प्रदेश सरकार प्रदेशको विकास तथा रुपान्तरणका लागि आर्थिक समृद्धि र समतामूलक समाज निर्माण गरी समृद्ध बागमती प्रदेश सुखी प्रदेशवासीको आधार तयार गर्न दृढ संकल्पित रहेको जगजहेर नै छ । सुदृढ संघीयताको जग बलियो प्रदेश, स्थानीय तह तथा आम जनताहरुको आर्थिक तथा सामाजिक क्षेत्रका अवयवहरुमा भएका सकारात्मक परिवर्तनका सूचकहरुले आम जनतामा विकास र सुशासनका अनुभूति गराउने गर्दछ । तसर्थ तहगत सरकारहरु बीच समन्वय तथा सहकार्य गर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा लिएको प्राथमिकताका विषयहरुमा यस एसोसिएसन एकिबद्धता प्रकट गर्दछौं ।

राष्ट्रिय प्राथमिकता प्राप्त कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण र आत्मनिर्भर बनाउने लक्ष्य सहित नयाँ कार्यक्रम संघीय सरकारले प्रस्तुत गरी निर्वाहमुखी कृषिबाट उत्पादनमुखी र व्यावसायिक कृषि तर्फको रुपान्तरण गर्ने धोषणा गरेको सन्दर्भमा बागमती प्रदेश सरकारले प्रदेशको वर्तमान संरचना र जनशक्तिको पुर्नरावलोकन गरी अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र छरितो बनाउने नीति तथा कार्यक्रम बमोजिम बागमती प्रदेशले प्रदेश दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय लिएको सन्दर्भमा हामी दुग्ध क्षेत्रमा क्रियाशील उत्पादक, सहकारी संस्था, व्यवसायी, उपभोक्ता तथा सरोकारवाला निकायहरू गहिरो चिन्ता व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण व्यक्त गर्दछौं ।

प्रदेश सरकारको उक्त निर्णय प्रति गम्भीर खेद प्रकट गर्दै हामी यस निर्णयलाई जनविरोधी, कृषकविरोधी घातक र दूरगामी असर पार्ने गलत निर्णय ठानी गम्भीर आपत्ति प्रकट गर्दछौं । उक्त बोर्डको स्थापनाले प्रदेशमा दुग्ध व्यवसायको संरचना, विकास, नियमन तथा सहजीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कार्यक्रमको प्रस्तावन सहित सरोकारवाला निकायहरु बीच निरन्तर समन्वय, संवाद र सम्पर्क गरिएको छ । जसको प्रतिफल रुवरुपमा यस प्रदेश अन्तर्गतका कृषक तथा दुग्ध व्यवसायीहरुलाई दुध तथा दुग्धजन्य पदार्थको उत्पादन र प्रबर्द्धनमा प्रोत्हसान र संरक्षकत्व निरन्तर प्राप्त भइरहेको थियो । साथै किसान तथा दुग्ध उत्पादकहरुको समस्या तथा समाधानका लागि निरन्तर पौरबी र बहस गर्दै आई रहेको यस बोर्डको खारेज गरिनु दुग्ध कृषकको अधिकार कटौती, सहकारी संस्थाको अवमूल्यन तथा उत्पादन–बजार सञ्जालको असन्तुलन सिर्जना गर्ने खतरनाक संकेत हो ।

तसर्थ दुग्ध क्षेत्रको समग्र हितमा उक्त निर्णय तुरुन्त फिर्ता लिनका लागि तत्कालै सरोकारवालासँग छलफल गरी आवश्यक सुधारसहित बोर्डलाई पुनः सशक्त बनाई दुग्ध उत्पादक कृषकको हक, हित र संरक्षण सुनिश्चित गर्न दीर्घकालीन नीतिको लागि हार्दिक अपिलका साथ शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट आवाज उठाउँदै प्रदेश सरकारलाई समयमै बागमती प्रदेश दुग्ध विकास बोर्ड खारेजीको निर्णय सच्याउन हार्दिक अपिल गर्दछौं ।
अन्यथा, समग्र दुग्ध क्षेत्र संघर्षमा उत्रन बाध्य हुनेछ ।

नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ
महासचिव
( श्रीकृष्ण भण्डारी )

बागमती प्रदेश नेपाल डेरी एसोसिएसन
( अध्यक्ष )
टिका प्रसाद घिमिरे
सम्पर्क नं – ९८४१६३८१२३