काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन् । सोही अवसरमा काठमाडौंको बौद्धस्थित का-न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्ट (गुम्बा) ले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
