लगातार वर्षा: पर्सी धानबाली भित्र्याऔं, एनपीएलका खेल प्रभावित

जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ।

विभागकाअनुसार पर्सी मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि आउँदो बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो।

गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ।

मौसमविद्का अनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ।

यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।

यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आकलन गरिएको छ।

हाल धान भित्र्याउने समय भएकाले किसानलाई पर्सी मंगलबारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भिर्त्याइसक्न विभागले विशेष आग्रह गरेको छ।

‘आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

अन्य भूभागमा वर्षाको सम्भावना न्युन छ,’ ‘कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन।’ विभागले उल्लेख गरेको छ ।

कात्तिक ८ गतेपछि कुनैपनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ।

‘कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ। धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला,’ विभागको आग्रह छ।

उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । एनपीएलका खेलहरू सोमबारबाट सुरु हुँदैछ।

आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ।