साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे। १ बलको सामना गरेका शर्टले ४ चौका र ३ छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्याएर आउट भए।
आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट भए। उनलाई पनि खरेलले नै दिपेन्द्रको हातबाट क्याचआउट गराए। आसिफ यहि सिजन जनकपुरबाट रिलिज भएर लुम्बिनीमा अनुबन्ध भएका हुन्।
उनलाई पहिलो सिजन जनकपुरले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो। लुम्बिनीमा आएपछि उनले सम्मानजनक रन बनाएका हुन्।
अर्को ओभरमा निरोशन डिकवेला व्यक्तिगत ७ रन बनाउँदा दिपेन्द्रको बलमा बोल्ड भए। शामिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।
तेस्रो संस्करणको उद्घाटन खेलमा दोस्रो सिजनको फाइनल खेलेका टोली मात्रै भिडेनन् नतिजा पनि सोही किसिमको दोहोरियो। अघिल्लो सिजनको फाइनलमा पनि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
लुम्बिनीले ६६ बल बाँकी हुँदै ४ विकेट गुमाएर उपाधि उचालेको थियो।
साढे १० महिनापछि पुन: कीर्तिपुर क्रिकेट मैदानमा आमनेसामने हुँदा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७।२ ओभरमा ८७ रन बनाउँदा अलआउट भयो।
लुम्बिनीका किशोर महतो र शेर मल्लले सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पारे।
सुदूरपश्चिमलाई पूरै ओभर टिक्न नदिन किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले तीन विकेट हात पारे। महतोले २८ र मल्लले समान ४ ओभरमा ११ रन खर्चिए।
साड्ली भान स्कालविक, तिलक भण्डारी र रोहित पौडेलले समान १ विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २७ रनको योगदान दिँदा २३ बलमा २ चौका प्रहार गरे।
ओपनर सैफ जैवले १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए।
एनपीएलमा भोली मंगलबार २ खेल हुनेछन्। पहिलो खेलमा साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर खेल्नेछन्।
