पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन्। उनले आगामी अन्तर्राष्ट्रिय खेल विन्डोअघि आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
अल नासरका फरवार्ड रोनाल्डोले यसअघि विश्वकपपछि नै संन्यास लिने निर्णय गरेका थिएनन्। नयाँ प्रशिक्षक जर्ज जेसससँगको छलफलपछि उनले पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि रक्षा गराउनु आफ्नो करिअरका बाँकी लक्ष्य मध्ये एक रहेको बताएका थिए।
तर, पछिल्लो अन्तर्राष्ट्रिय खेल विन्डोका क्रममा प्रशिक्षक जेसससँग भूमिकालाई लिएर विवाद भएपछि रोनाल्डोले पोर्चुगलको टोली छाडेका थिए। अनुशासन उल्लंघनका कारण लागेको प्रतिबन्ध पूरा गरेर टोलीमा फर्किए पनि उनले अब अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका छन्।
रोनाल्डोले युट्युबमार्फत लामो वक्तव्य जारी गर्दै पोर्चुगलको ७ नम्बर जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
‘पोर्चुगलका जनताका लागि अब राष्ट्रिय टोलीको ७ नम्बर जर्सी हस्तान्तरण गर्ने समय आएको छ। २३ वर्षसम्म यो जर्सी लगाउने, यसको रक्षा गर्ने र विश्वभरका रंगशालामा पोर्चुगलको प्रतिनिधित्व गर्ने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ उनले भनेका छन्।
सन् २००३ अगस्टमा राष्ट्रिय टोलीबाट यात्रा सुरु गरेका रोनाल्डोले यो निर्णय सहज नभएको बताएका छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई खेल, गोल, कीर्तिमान र उपाधिभन्दा पनि मानिसहरूसँग जोडिएको यात्राका रूपमा स्मरण गरेका छन्।
‘राष्ट्रिय टोलीसँग बिताएका क्षण सम्झँदा मलाई खेल, गोल, कीर्तिमान र उपाधि मात्र याद आउँदैन। विदेशमा रहेका पोर्चुगिज नागरिक, जसले खेलको ९० मिनेट आफूलाई घरसँग नजिक महसुस गरे, उनीहरू सम्झन्छु। मैले कहिल्यै नभेटेका तर मेरो जीवनको हिस्सा बनेका लाखौँ पोर्चुगिज नागरिक सम्झन्छु,’ उनले भने।
उनले राष्ट्रिय टोलीबाट खेल्दा सधैँ आफ्नो क्षमताभन्दा बढी दिने प्रयास गरेको पनि बताएका छन्। ‘म जित्न चाहन्थेँ, अझ राम्रो बन्न चाहन्थेँ र इतिहास रच्न चाहन्थेँ। मैले सधैँ आफैँसँग उच्च अपेक्षा राखेँ। हामी अझ अगाडि बढ्न सक्छौँ भन्ने विश्वास गरेँ र यो जर्सीका लागि आफ्नो सबैथोक दिएँ,’ रोनाल्डोले भनेका छन्।
न्यूज एजेन्सी