पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
बिहीबारको पहिलो खेलमा जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीले अंक तालिकामा सात अंक बनाएको छ। तीन जित र एक खेलमा अंक बाँड्दै लुम्बिनी सात अंकसहित तालिकाको शीर्षस्थानमा यथावत रहेको हो।
दोस्रो स्थानको विराटनगर किंग्सको चार अंक छ। समान चार अंक भएको कर्णाली याक्स तेस्रो, जनकपुर चौथो र सुदूरपश्चिम रोयल्स पाचौँ स्थानमा छ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३३ रन मात्र बनाउन सक्यो।
जनकपुरका कप्तान हरमित सिंहले २० बलमा तीन छक्का सहयोगमा ३३ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए।
सैफ हसन २८ रन बनाउँदा डार्सी सर्टको बलमा बोल्ड आउट भए। तृतराज दास पनि १८ रन बनाउँदा डार्सी सर्ट कै बलमा बोल्ड आउट भए। आदित्य त्रिपाठी २४ रनमा नटआउट रहे।
लुम्बिनीका लागि डार्सी सर्टले तीन विकेट लिए। ब्याटिङबाट टोलीलाई योगदान दिन नसकेका डार्सीले बलिङबाट भने योगदान दिए।
शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिए रुवेन ट्रम्पलम्यानले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पारेको थियो।
कप्तान रोहित पौडेलले बनाएको ३४ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा अविशेक तिवारीको बलमा ललितको हातबाट क्याच आउट भए।
२७ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका निरोशन डिकवेल्ला विशाल सुस्लिङको बलमा राहुल यादवको हातबाट क्याच आउट भए।
दिलीप नाथ २५ रन बनाउँदा विशालको बलमा नै अनिल शाहको हातबाट क्याच आउट भए।
आशिफ शेख २१ रन बनाउँदा हरमित सिंहको बलमा एलबीडब्लु धरापमा परे। डार्सी सर्ट शून्यै पेभेलियन फर्किए। सन्दीप जोराले ९ र समिम होसैनले १ रन थपे। रुवेन ट्रम्पलम्यान १५ रनमा रनआउट भए।
जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, अविशेक तिवारी र हरमित सिंहको नाममा समान एक विकेट रह्यो।
आजै हुने दोस्रो खेलमा काठमाडौ गोर्खाज र विराटनगर किंग्स भिड्नेछन्।
