अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभइ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँबराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ। विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको प्रभावकारी उपयोग गर्न सकिने उनले बताए।
यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए।
यद्यपि १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे। ऋण डलरमा लिने कि भारतीय रुपैयाँमा लिने भन्ने विकल्प पनि खुला रहेको उनको भनाइ छ।
यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको बताए।
सुनकोशी-सप्तकोशी आयोजना २२ वर्ष पुरानो
सांसदहरूले सुनकोशी-सप्तकोशी आयोजनाबारे उठाएको जिज्ञासामा अर्थमन्त्री वाग्लेले यो नयाँ आयोजना नभइ सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताए।
उनका अनुसार सुनकोशी(सप्तकोशी हाइ ड्याम आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन स्किमसम्बन्धी अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय (जेपीओ) स्थापना गरिएको छ। उक्त कार्यालयले आयोजनाको अध्ययन तथा भविष्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम गर्ने म्यान्डेट पाएको उनले जानकारी दिए।
‘समुन्नत नेपाल’को छुट्टै पञ्चवर्षीय योजना आवश्यक छैन
भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’सम्बन्धी भिजन डकुमेन्टबारे उठेको प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको बताए।
उनका अनुसार भिजन डकुमेन्टमा समेटिएका १० वटा स्तम्भ नै त्यसको कार्यक्षेत्र र कार्यादेश हुन्। यसका लागि छुट्टै पञ्चवर्षीय योजना वा अन्य दस्तावेज आवश्यक नपर्ने उनको तर्क छ।
यस्तो छ अर्थमन्त्रीको भनाइ
नेपालले विगत १०-१२ वर्षदेखि गर्दै आएको कूटनीतिक प्रयासपछि लुम्बिनीका लागि एकतर्फी हवाई प्रवेशमार्गलाई द्विपक्षीय बनाइएको छ। यो नेपालको नागरिक उड्डयन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हो।
आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने लक्ष्य रहेको छ। बागडोगरासँग सम्बन्धित १२५ किलोमिटर क्षेत्रको विषयमा फैलिएका समाचार तथा हल्लाहरू पूर्णत: निराधार, भ्रामक र कपोलकल्पित हुन्। त्यस्ता कुरामा कुनै सत्यता छैन। त्यसैगरी, सुनकोशी(सप्तकोशी उच्च बाँध आयोजनासम्बन्धी विषय पनि नयाँ होइन।
सन् २००४ देखि नै विराटनगरमा नेपाल(भारत संयुक्त परियोजना कार्यालय स्थापना भई यस आयोजनाको अध्ययन तथा तयारी हुँदै आएको छ। नेपाल(भारत भिजन डकुमेण्टमा उल्लेख गरिएका १० वटा प्रमुख स्तम्भ नै यसको कार्यक्षेत्र र उद्देश्य हुन्।
कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउनु यसको मुख्य उद्देश्य हो। यो दस्तावेज दुई देशबीचको सहकार्यलाई दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढाउने मार्गनिर्देशन हो।
त्यसैगरी, भारतबाट प्राप्त सहुलियतपूर्ण ऋण तथा लाइन अफ क्रेडिट विशेषगरी ऊर्जा र पूर्वाधार विकासमा उपयोग गर्ने उद्देश्य राखिएको छ। अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमा ऋण लिन र भुक्तानी गर्न सकिने विकल्प प्राप्त हुनु महत्वपूर्ण उपलब्धि हो।
यसले विनिमय दरको जोखिम घटाउन सहयोग गर्नेछ।
समग्रमा, भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्वपूर्ण आर्थिक तथा कुटनीतिक उपलब्धि हासिल गरेको छ।
यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। यस सहयोगका लागि नेपाल सरकार भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।
