प्रहरीलाई ग्रेड रकम दिन निर्देशन

नेपाल प्रहरीले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) लाई ग्रेड रकम दिन निर्देशन दिएको छ । प्रहरी हेडक्वार्टरले बजेट सञ्चालन गर्ने कार्यालयहरुलाई परिपत्र गर्दै सर्वोच्च अदालतको परमादेश र क्याबिनेट निर्णयबमोजिम यस्तो निर्देश गरेको हो ।

चार वर्षअगाडि सरकारले नयाँ पद सिर्जनासँगै प्रहरी कर्मचारीको ग्रेड वृद्धि गरेको थियो । तर,पदअनुसार तलब पाउन नसकेपछि वरिष्ठ सइहरु सर्वोच्च पुगेका थिए ।

सइबाट वरिष्ठ सइमा बढुवा भएका सबै सुरक्षाकर्मीलाई बढुवा भएको दिनदेखि हिसाब गरेर पाँच ग्रेड वृद्धि गरी तलब उपलब्ध गराउन सर्वोच्चले सरकारको नाममा आदेश दिएको थियो ।

गत वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गर्यो ।

त्यसपछि बजेट निकासाका लागि गृह मन्त्रालयले अर्थलाई पत्र पठाएकोमा वृद्धि भएको तलब भुक्तानीका लागि सरकारले थप १५ करोड रुपैयाँ निकासा गर्न लागेको छ ।

गृहले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गदै सोबारे जानकारी गराएको थियो ।

गृहकै पत्राचारपछि प्रहरी हेडक्वार्टरले ग्रेड रकम कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ, ‘तालुक गृह मन्त्रालयको मिति २०८२ असार १७ गतेको पत्रानुसार प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब र ग्रेड समायोजन गर्ने सम्बन्धमा सर्वोच्च अदालतको मिति २०८१ साउन १६ गते भएको उत्प्रेषणयुक्त परमादेश कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति ०८२ वैशाख ३१ मा भएको निर्णयबमोजिम कार्यान्वयनको लागि निर्देशानुसार अनुरोध गरिएको छ ।’

साथै, वरिष्ठ सइबाट निरीक्षक (इन्स्पेक्टर) मा पदोन्नति भएका तथा सेवा निवृत्त भएका कर्मचारीको हकमा समेत ग्रेड रकम कार्यान्वयन गर्न भनिएको छ ।

परिपत्रमा अधिकतम पाँच ग्रेडभन्दा कम प्राप्त गर्ने वरिष्ठ सइहरुको हकमा पदोन्नति भएको मितिले एक वर्ष पूरा भएपश्चात् क्रमशः अधिकतम पाँच ग्रेडसम्म थप हुने पनि उल्लेख छ ।