आज तरकारी र फलफूल महंगो

आज भान्सामा प्रयोग हुने हरियो तरकारीको मूल्य शतप्रतिशत भन्दा बढीले उकालो लागेको छ ।

विशेषगरी काउली, बन्दा र भन्टाजस्ता तरकारीको भाउले आकाश छुँदा सर्वसाधारणको भान्साको बजेट नराम्ररी प्रभावित भएको छ ।

बजार तथ्यांक अनुसार सबैभन्दा बढी मूल्यवृद्धि स्थानीय काउली (ज्यापु) मा देखिएको छ । अघिल्लो वर्ष प्रतिकिलो २५ रुपैयाँमा पाइने यो काउली यस वर्ष १ सय ८० प्रतिशत बढेर ७० रुपैयाँ पुगेको छ । त्यसैगरी सामान्य स्थानीय काउलीको मूल्य पनि ठ्याक्कै दोब्बर अर्थात् शतप्रतिशत बढेर २५ बाट ५० रुपैयाँ पुगेको छ ।

हिउँदे तरकारीका रूपमा चिनिने लोकल बन्दाको मूल्यले पनि उपभोक्तालाई निराश बनाएको छ । गत वर्ष १२ रुपैयाँ ३३ पैसा प्रतिकिलोमा पाइने बन्दा अहिले १६३.५८ प्रतिशत महँगिएर ३२ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै भन्टाको मूल्यमा पनि अस्वाभाविक वृद्धि देखिएको छ । डल्लो भन्टाको मूल्य अघिल्लो वर्ष ३५ बाट ११४.२९ प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ भने लाम्चो भन्टा ८३.३३ प्रतिशत बढेर ५५ रुपैयाँ पुगेको छ ।

तरकारी मात्र नभई गेडागुडी तथा कोसायुक्त तरकारीको भाउ पनि उस्तै आकासिएको छ । राजमा (घिउसिमी) को मूल्य प्रतिकिलो ७५ बाट बढेर १ सय २० रुपैयाँ पुगेको छ भने तने बोडी ५७.४ प्रतिशत बढेर १ सय १० रुपैयाँ पुगेको छ ।

भिन्डी पनि प्रतिकिलो ६५ बाट १ सय २ रुपैयाँ ५० पैसा पुगेको छ ।

भान्सामा दैनिक स्वाद बढाउन प्रयोग गरिने हरियो लसुन र हरियो खुर्सानीको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । हरियो लसुन ५७।५८ प्रतिशत र हरियो खुर्सानी ५० प्रतिशतभन्दा बढीले महँगिएको छ ।

फलफूलतर्फ हेर्दा केराको मूल्यमा अचाक्ली वृद्धि देखिएको छ । अघिल्लो वर्ष प्रतिदर्जन १ सय ५० रुपैयाँमा पाइने केरा अहिले ५० प्रतिशत बढेर २ सय २५ पुगेको छ ।

माथिका सबै मूल्य होलसेल (थोक) हो । खुद्रा बजारमा भने यी तरकारी तथा फलफूल र चामलदेखि खानेतेल हरेक वस्तुको मूल्य छोइनसक्नु छ ।