सुनसरीमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।

सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ।

केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।