चीनको १४ दिने अध्ययन भ्रमणबाट फर्किएको नेपाली प्रतिनिधिमण्डलको यस्तो आयो निष्कर्ष

  • Clock icon
    २०८३ श्रावण १९, मंगलवार

काठमाडौं, भदौ २८ । चीनको जियाङ्सु प्रान्तअन्तर्गत चाङ्झाउ र सांघाईमा आयोजित ‘बेल्ट एन्ड रोड’ आबद्ध मुलुकहरूका लागि भन्सारको अधिकृत आर्थिक सञ्चालक (AEO) प्रमाणीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार मा सहभागी भएर फर्किएको नेपालका छ सदस्यीय प्रतिनिधिमण्डलले चीनको भन्सार प्रणाली, आधुनिक पूर्वाधार, शहरी विकास, व्यापार सहजीकरण तथा नागरिक अनुशासनबाट नेपालले धेरै महत्वपूर्ण पाठ सिक्न सक्ने निष्कर्ष निकालेको छ।

प्रतिनिधिमण्डलले सन् २०२६ जुलाई ९ देखि २२ सम्म सञ्चालन भएको दुई साताको सेमिनारमा नेपालका साथै काजाकिस्तान, टोगो, डोमिनिकन गणतन्त्र, ग्रेनाडा र किरिबाटीका प्रतिनिधिसँग सहभागिता जनाएको थियो। कार्यक्रममा चीनको भन्सार प्रशासन, अधिकृत आर्थिक सञ्चालक (AEO) प्रणाली, व्यापार सहजीकरण, राष्ट्रिय विकास रणनीति तथा आधुनिक आर्थिक व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो।

सेमिनारका क्रममा प्रतिनिधिमण्डलले बन्दरगाह, उद्योग, कृषि फार्म, अटोमोबाइल उत्पादन केन्द्र, उत्पादनमूलक उद्योग, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र आधुनिक शहरी संरचनाको स्थलगत अवलोकनसमेत गरेको थियो।

चीनको आधुनिक भन्सार प्रणाली प्रभावकारी

प्रतिनिधिमण्डलका अनुसार चीनले विश्व भन्सार संगठन (WCO) को SAFE Framework of Standards अनुरूप भन्सार प्रणालीलाई पूर्ण रूपमा आधुनिकीकरण गर्दै डिजिटल प्रविधिमा आधारित बनाएको छ। स्वचालित जोखिम मूल्याङ्कन, स्मार्ट कन्टेनर स्क्यानिङ, डिजिटल अभिलेख व्यवस्थापन, वस्तु ट्र्याकिङ तथा एकीकृत निरीक्षण प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापारलाई छिटो, सुरक्षित र पारदर्शी बनाइएको छ।

AEO प्रणालीअन्तर्गत उद्योग तथा व्यवसायलाई उनीहरूको विश्वसनीयता र अनुपालनका आधारमा वर्गीकरण गरी सहज भन्सार सेवा उपलब्ध गराइने व्यवस्था नेपालका लागि पनि उपयोगी हुन सक्ने प्रतिनिधिमण्डलको निष्कर्ष छ।

पूर्वाधार विकास आर्थिक समृद्धिको आधार

चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले हवाईजहाज, उच्चगतिको रेल, साधारण रेल, भूमिगत मेट्रो तथा आधुनिक बस प्रणालीमार्फत यात्रा गर्दै चीनको अत्याधुनिक यातायात पूर्वाधारको प्रत्यक्ष अनुभव लिएको थियो।

‘समृद्ध बन्न चाहन्छौ भने पहिले सडक बनाऊ’ भन्ने चिनियाँ भनाइ त्यहाँको विकास मोडलमा स्पष्ट रूपमा देखिएको प्रतिनिधिमण्डलको भनाइ छ।

चीनका फराकिला सडक, वैज्ञानिक ढंगले निर्माण गरिएका फ्लाइओभर, अन्डरपास, सुरुङमार्ग, भूमिगत मेट्रो तथा व्यवस्थित ट्राफिक व्यवस्थापनले शहरी आवागमनलाई अत्यन्त सहज बनाएको उल्लेख गरिएको छ।

उच्चगतिको रेल सञ्जालले सयौं किलोमिटरको दूरी छोटो समयमा पार गर्न सम्भव बनाएको छ भने अधिकांश यातायात प्रणाली स्वचालित प्रविधिमा आधारित रहेको पाइएको छ।

व्यवस्थित शहरी विकास र भूमि व्यवस्थापन

प्रतिनिधिमण्डलले चीनको शहरी विकास योजनालाई विशेष रूपमा प्रशंसा गरेको छ। अग्ला आवासीय तथा व्यावसायिक भवनमार्फत सीमित भूभागमा धेरै जनसंख्या व्यवस्थापन गर्दै बाँकी भूमि कृषि, हरियाली, सार्वजनिक पार्क, नदी तथा पूर्वाधार विकासका लागि उपयोग गरिएको पाइएको छ।

सडक, विद्युत्, ढल, नदी, हरित क्षेत्र तथा सार्वजनिक संरचनालाई एउटै समग्र योजनाअन्तर्गत विकास गरिएको अभ्यास नेपालका लागि अनुकरणीय रहेको प्रतिनिधिमण्डलको धारणा छ।

नागरिक अनुशासन र सामाजिक उत्तरदायित्व प्रशंसनीय

प्रतिनिधिमण्डलले चीनमा सार्वजनिक सरसफाइ, अनुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा नागरिक जिम्मेवारीको स्तर निकै उच्च रहेको अनुभव गरेको जनाएको छ।

बस, रेल, मेट्रो तथा विमानस्थललगायत सार्वजनिक स्थानमा नागरिकहरू शालीन, अनुशासित र जिम्मेवार देखिएको उल्लेख गर्दै विदेशी आगन्तुकप्रति पनि सम्मानजनक व्यवहार गरिएको जनाएको छ।

चिनियाँ समाजमा स्वास्थ्यप्रति सचेतना, मेहनत गर्ने संस्कार तथा पेशाप्रतिको प्रतिबद्धता उच्च रहेको प्रतिनिधिमण्डलले जनाएको छ। साथै सञ्चारमाध्यम र सामाजिक सञ्जालले सामाजिक सद्भाव, सकारात्मक सन्देश तथा जिम्मेवार सञ्चारलाई प्राथमिकता दिएको अनुभवसमेत साझा गरिएको छ।

नेपालले सिक्नुपर्ने प्रमुख पाठ

प्रतिनिधिमण्डलले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, निर्यात वृद्धि तथा लगानीमैत्री वातावरण निर्माणका लागि AEO प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएको छ। उत्पादनमुखी उद्योग, रोजगारी सिर्जना गर्ने क्षेत्र तथा निर्यात प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न दीर्घकालीन रूपमा भूमिगत मेट्रो रेल, आधुनिक सार्वजनिक यातायात, फ्लाइओभर, अन्डरपास तथा वैज्ञानिक सडक सञ्जाल निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। राष्ट्रिय स्तरमा पूर्व–पश्चिम रेलमार्ग निर्माणलाई पनि दीर्घकालीन रणनीतिक पूर्वाधारका रूपमा अघि बढाउनुपर्ने सुझाव दिइएको छ।

शहरी भूमि व्यवस्थापन, योजनाबद्ध पूर्वाधार विकास, हरित क्षेत्र संरक्षण तथा सार्वजनिक सम्पत्तिको व्यवस्थित उपयोगमा चीनबाट नेपालले धेरै कुरा सिक्न सक्ने प्रतिनिधिमण्डलको निष्कर्ष छ।

प्रतिनिधिमण्डलले अन्त्यमा नेपालमा सार्वजनिक सरसफाइ, नागरिक अनुशासन, सामाजिक उत्तरदायित्व तथा जिम्मेवार सञ्चार संस्कृतिको विकासमा राज्य, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजले संयुक्त रूपमा पहल गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिनिधिमण्डलका अनुसार चीनको विकास अनुभवलाई नेपालको आवश्यकता र भौगोलिक अवस्थाअनुसार आत्मसात् गर्न सकिए व्यापार, पूर्वाधार, शहरी विकास तथा समग्र आर्थिक रूपान्तरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

  • Clock icon
    २०८३ श्रावण १९, मंगलवार