सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्काजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रा.लि.ले रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै संकटको समयमा राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
नेपाल लिकर्सले विपत्तिबाट भएको अपूरणीय क्षति र पीडाको तुलनामा आफ्नो सहयोग सानो प्रयास भए पनि सबैको सानो–सानो सहयोग र सहकार्यबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढाउन सकिने विश्वास व्यक्त गरेको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै संकटको घडीमा सक्दो सहयोग गर्न नागरिक तथा विभिन्न संघसंस्थालाई आग्रहसमेत गरेको छ।
रसुवा र आसपासका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग घोषणा गर्दै आएका छन्।
