अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीचको भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ।
भारत भ्रमणमा रहेका मन्त्री वाग्ले र समकक्षी सीतारमणबीच बिहीबार अपरान्ह ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूको भेट वार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।

भेटवार्ताका क्रममा वाग्ले र सीतारमणबीच विकास सहकार्य तथा दुई देशबीच लामो समयदेखि कायम आर्थिक साझेदारीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भ्रमणमा सहभागी प्रतिनिधि मण्डलका एक सदस्यले जानकारी दिए।
उनीहरुबीचको छलफलमा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत आपसी हितका अन्य विषय समेत समेटिएको थियो ।
त्यसबाहेक, नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप मजबुत र व्यापक बनाउने अवसरबारे पनि छलफल भएको उनले बताए।
