अर्थमन्त्री वाग्ले भारत भ्रमण पूरा गरि स्वदेश फिर्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण सकेर गए राति शनिबार देश फर्किएका छन्।

भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका उनी ३ दिन भारत भ्रमण गरेर नेपाल फर्किएका हुन्।

भ्रमणका क्रममा उनले भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक-व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भए।

त्यस क्रममा भोटेकोसी बाढीपछिको उद्धार र राहतमा गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए।

साथै बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबिचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनले बताए।

बिहीबार उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल(भारत आर्थिक सहकार्यका आयामप्रति छलफल भएको थियो।

भारत भ्रमणको दोस्रो दिन शुक्रबार अर्थमन्त्री वाग्ले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी भएका थिए।

त्यसै दिन उनले भारतीय विदेशमन्त्री डा. एस.जयशंकरसँग भेटवार्ता गरे भने साँझ भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा सहभागी भए।

सोही दिन दिउँसो उनले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरे।

भ्रमणको अन्तिम दिन शनिबार बिहान अर्थमन्त्री वाग्ले संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सहभागी भए।

सोही दिन उनले भारतीय उद्योग परिसंघले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भए।

यसैगरी शनिबारै उनले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाए।