कांग्रेस महाधिवेशनले भावी राजनीतिको दिशा निर्धारण गर्नेछ-उपप्राध्यापक नेपाल

राजनीतिक अवस्था तरल रहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयनसँगै आगामी राष्ट्रिय राजनीतिको दिशासमेत निर्धारण गर्ने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकले विश्वास व्यक्त गरेका छन्।

कांग्रेसभित्रको आन्तरिक विवाद समाधान, विपक्षी दलका रूपमा स्पष्ट धारणा निर्माण तथा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे महाधिवेशनले महत्वपूर्ण निर्णय गर्नुपर्ने उपप्राध्यापकको भनाइ छ।

पूर्व पत्रकार एंव उपप्राध्यापक जगत नेपालले अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसको महाधिवेशनको विशेष महत्त्व रहेको बताए।

उनले ठूलो बहुमतको सरकार रहेपनि संसद् प्रभावकारी हुन नसकेको र आगामी राजनीति कुन दिशामा जाने भन्ने स्पष्ट नभएको अवस्थामा कांग्रेसले आफ्नो राजनीतिक धारणा स्पष्ट गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘मुख्यतः नेपाली कांग्रेसको अहिले जुन बेलामा महाधिवेशन हुँदैछ, यसले धेरै कुराहरू निर्धारण गर्नुपर्छ । किनभने राजनीति अत्यन्त तरल अवस्थामा छ । दुई तिहाइ बहुमतको सरकार छ, तर त्यसले संसद् प्रभावकारी भएको छैन। राजनीति कुन दिशामा जान्छ भन्ने क्लियर भएको छैन।’

नेपालले कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्नुका साथै अबको देशलाई कुन दिशामा लिएर जाने भन्ने विषयमा विपक्षी दलका रूपमा कांग्रेसको स्पष्ट धारणा आवश्यक रहेको बताए।

‘यस्तो बेला नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई पनि मिलाएर जानुपर्ने एउटा परिस्थिति छ भने अबको कन्ट्रीलाई कता लिएर जाने भन्ने अपोजिसनको स्ट्यान्ड पनि अहिले निर्धारण गर्नुपर्ने छ,’ उनले भने।

उनका अनुसार आठ दशक लामो इतिहास बोकेको मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टी कांग्रेसले महाधिवेशनबाट गर्ने निर्णयले नेपालको भावी राजनीतिको बाटोसमेत प्रभावित पार्न सक्छ ।

‘नेपालको सबभन्दा पुरानो राजनीतिक पार्टी, आठ दशक लामो इतिहास छ । यस्तो निर्णयले नेपालको भावी राजनीतिको एउटा कोर्स बन्छ जस्तो लाग्छ। त्यसैले महाधिवेशनको महत्त्व छ जस्तो लाग्छ,’ नेपालले भने।

उनले महाधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउँछ भन्ने विषयसँगै कांग्रेसले समग्र राष्ट्रिय राजनीतिलाई कसरी अघि बढाउँछ भन्ने पक्षलाई पनि महत्त्वका साथ हेर्नुपर्ने बताए।

नेपालले सञ्चारमाध्यमको आ–आफ्नै नीति र पाठक–दर्शक हुने भएकाले रिपोर्टरले महाधिवेशनका विभिन्न पक्षलाई छुट्याएर समाचारको उपयुक्त कोण पहिचान गर्न सक्नुपर्ने बताए।

‘कुनै पनि मिडियाको आफ्नो पोलिसी हुन्छ, उसको अडियन्स हुन्छ । रिपोर्टरले विभिन्न एंगलमा हेर्छ । सबै एंगलहरू पहिचान गरेर राजहंसले जस्तै दूध र पानी छुट्याउँनुपर्छ । रिपोर्टरको स्किल त्यहाँ देखिनुप-यो, उनीहरूले छुट्याउन सक्नुपर्यो,’ उनले भने।