गृहमन्त्री सुधन गुरूङले आइजिपीमा नियुक्त भएका प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्।
यसअघि गृह सचिवले लगाउँदै आएको भए पनि यसपालि गृहमन्त्री गुरूङले दर्ज्यानी चिह्न लगाएका हुन्।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक -आईजीपी डा.मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी -कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्मको गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् ।
गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र बनाइन्छ’ केसीले भने ।
त्यस्तै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि उनले बताएका छन् । भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको पनि उनले औंल्याए ।
नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध र विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको पनि डा। केसीले बताए । सरुवा–बढुवामा पनि सिस्टम बसालेर काम गर्नुपर्ने अवस्था रहेको उनले औंल्याएका छन् ।
