महासंघका उपाध्यक्ष ढकाल सेबोन सञ्चालक नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिनिधिका रूपमा उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा पठाएको छ। महासंघले केही दिनअघि नै ढकाललाई सेबोनमा पठाउने निर्णय गरे पनि उनी बाहिर रहेकाले बुधवार (साउन २७ गते) मात्र औपचारिक रूपमा नियुक्ति भएको हो। ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन्।

नवनियुक्त सञ्चालक ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन्।

यसअघि महासंघको तर्फबाट सेबोनमा महानिर्देशक गोकर्णराज अवस्थि सञ्चालक थिए। तर, महासंघले केही समयअघि उनलाई फिर्ता बोलाएपछि सो पद रिक्त भएको थियो।