काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सहज रूपमा वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले ‘बुलियन धितो कर्जा’ (Loan Against Bullion) योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आफूसँग भएका सुन तथा चाँदीका गरगहना, भाँडाकुँडा, सिक्का, बारलगायतका योग्य वस्तु धितो राखेर आफ्ना तत्कालीन आर्थिक आवश्यकता पूरा गर्न कर्जा लिन सक्नेछन्।
यस कर्जा योजनामार्फत ग्राहकले आफ्नो मूल्यवान् सुनचाँदी बिक्री नगरी त्यसलाई धितोका रूपमा प्रयोग गरेर व्यक्तिगत खर्च वा व्यवसायका लागि आवश्यक पुँजी जुटाउन सक्नेछन्। बैंकले सरल कागजी प्रक्रिया, प्रतिस्पर्धी ब्याजदर तथा छिटो कर्जा प्रवाहको व्यवस्था गरेको जनाएको छ।
बैंकका अनुसार धितो राखिएको सुनचाँदीको उचित बजार मूल्यका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिनेछ। सुनचाँदीको मूल्यांकन बैंकबाट आधिकारिक रूपमा स्वीकृत सुन परीक्षणकर्ताले गर्नेछन्। कर्जाको स्वीकृत रकम कुल मूल्यांकनको न्यूनतम ३० प्रतिशतभन्दा कम नहुने व्यवस्था पनि रहेको छ।
यस योजनाअन्तर्गत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। अधिकतम कर्जा सीमा एकल ऋणी सीमा (Single Obligor Limit) अन्तर्गत निर्धारण गरिएको बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम एक वर्षसम्म रहनेछ भने ग्राहकको अनुरोध र खाताको सन्तोषजनक कार्यसम्पादनका आधारमा वार्षिक रूपमा नवीकरण गर्न सकिनेछ।
कर्जा प्रक्रियालाई छिटो र सहज बनाउन न्यूनतम कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ। धितो राखिएको सुनचाँदीको मूल्यांकन तथा सुरक्षित भण्डारण प्रक्रिया पूरा भएपछि कर्जा रकम छिटो उपलब्ध गराइने बैंकले जनाएको छ। यसका साथै कर्जामा न्यूनतम प्रशोधन शुल्क तथा प्रतिस्पर्धी ब्याजदर लागू हुने र अवधि समाप्त भएपछि सरल प्रक्रियामार्फत नवीकरण गर्न सकिने सुविधा रहेको छ।
यस योजनाअन्तर्गत सुन तथा चाँदीका गरगहना, सिक्का, बार, भाँडाकुँडा, कलात्मक सामग्री तथा शुद्धताको मापदण्ड पूरा गर्ने बैंकबाट स्वीकृत अन्य भौतिक सुनचाँदीका वस्तु धितोका रूपमा स्वीकार गरिनेछ।
कर्जा लिन इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकको कुनै पनि अधिकृत शाखामा सुन वा चाँदीका वस्तु, नागरिकता वा राहदानीजस्ता परिचय खुल्ने कागजात र हालसालै खिचिएका पासपोर्ट आकारका तस्बिरसहित सम्पर्क गर्नुपर्नेछ। बैंकको आन्तरिक सुन परीक्षणकर्ताले धितोको शुद्धता र तौल परीक्षण गरी त्यसका आधारमा कर्जा रकम निर्धारण गर्नेछन्।
बैंकको यस योजनाले सुनचाँदीका सम्पत्ति बिक्री नगरी तत्काल व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता पूरा गर्न चाहने ग्राहकलाई कर्जा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
