काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले व्यक्तिगत खातावालालाई लक्षित गर्दै सहज, सुरक्षित र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत ग्राहकले बैंक खाताको जानकारीदेखि रकम स्थानान्तरण, बिल भुक्तानी, क्यूआर कारोबार तथा विभिन्न स्वसेवा सुविधा मोबाइलबाटै प्रयोग गर्न सक्नेछन्।
फोनपे सञ्जालसँग एकीकृत गरिएको यस एपले अन्य बैंकमा तत्काल रकम पठाउने, विभिन्न सेवाको भुक्तानी गर्ने तथा क्यूआरमार्फत व्यापारीलाई भुक्तानी गर्ने सुविधा उपलब्ध गराउँछ।
एपका प्रमुख सुविधा
मुक्तिनाथ फाइदा एपमा ग्राहकले एउटै ड्यासबोर्डबाट आफ्ना बचत खाता र सक्रिय कर्जा खाताको विवरण हेर्न सक्नेछन्। ग्राफिकल स्टेटमेन्टसहितको खातासम्बन्धी जानकारी पनि एपमै उपलब्ध हुनेछ।
सुरक्षाका लागि एपमा औँलाछापमार्फत लगइन तथा कारोबार प्रमाणीकरण गर्ने बायोमेट्रिक सुविधा राखिएको छ। ग्राहकले आफ्नै मुक्तिनाथ विकास बैंक खातामा रकम प्राप्त गर्न व्यक्तिगत क्यूआर कोडसमेत बनाउन सक्नेछन्।
इन्टरनेट उपलब्ध नभएको अवस्थामा पनि आवश्यक बैंकिङ सेवा प्रयोग गर्न सकिने एसएमएस बैंकिङ सुविधा एपमा समावेश गरिएको छ। त्यस्तै, नियमित बिल तथा वित्तीय दायित्वका लागि निर्धारित मितिमा स्वचालित रूपमा भुक्तानी हुने गरी अनुसूचित भुक्तानी समेत सेट गर्न सकिनेछ।
ग्राहकले शाखा पुग्नै नपर्ने गरी एपबाटै नयाँ मुद्दती निक्षेप खाता खोल्न तथा मुद्दती निक्षेप धितोमा कर्जा लिन आवेदन दिन सक्नेछन्। एटीएम कार्ड नवीकरणको अनुरोध तथा ई–कमर्स अनलाइन भुक्तानी सेवा सक्रिय गर्ने सुविधा पनि एपबाटै उपलब्ध छ।
मोबाइलबाटै विभिन्न भुक्तानी
एपमार्फत ग्राहकले वास्तविक समयको खाताको मौज्दात, कारोबार विवरण तथा मिनी स्टेटमेन्ट हेर्न सक्नेछन्। यसका साथै एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड, एनसेल प्रिपेड, एनसेल पोस्टपेड, एनटी ल्यान्डलाइन र एडीएसएलमा मोबाइल तथा इन्टरनेट रिचार्ज गर्न सकिनेछ।
एनटी जीएसएम, एनटी सीडीएमए, डिसहोम, ब्रोडलिंक इन्टरनेट, स्मार्ट सेललगायत विभिन्न सेवाप्रदायकका डिजिटल रिचार्ज कार्डसमेत एपबाट खरिद गर्न सकिनेछ।
त्यस्तै, ईसेवालगायत लोकप्रिय डिजिटल वालेटमा रकम लोड गर्न सकिने सुविधा रहेको छ। ग्राहकले विद्युत्, खानेपानी, इन्टरनेट, टेलिभिजन, हवाई टिकट, शैक्षिक संस्थाको शुल्क, डिम्याट तथा मेरो सेयरसम्बन्धी भुक्तानीसमेत एपमार्फत गर्न सक्नेछन्।
फोनपेसँगको एकीकरणका कारण नेपालभरका हजारौं व्यापारी प्रतिष्ठानमा क्यूआर स्क्यान गरी नगदरहित भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकका खाताबीच रकम स्थानान्तरण निःशुल्क रहेको छ भने अन्य बैंकमा रकम पठाउँदा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ।
कारोबारको सीमा
डिजिटल वालेटमा रकम लोड गर्दा एकपटकमा अधिकतम २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ।
मोबाइल बैंकिङ तथा क्यूआर भुक्तानीतर्फ भने एकपटकमा अधिकतम १ लाख रुपैयाँ, दैनिक ३ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको छ।
बैंकका अनुसार मुक्तिनाथ फाइदा एपले बायोमेट्रिक सुरक्षा, विभिन्न बिल भुक्तानी, अन्तरबैंक रकम स्थानान्तरण, क्यूआर भुक्तानी तथा स्वसेवा बैंकिङ सुविधालाई एउटै डिजिटल माध्यममा समेटेको छ। यसले ग्राहकलाई जहाँबाट पनि सहज र सुरक्षित रूपमा दैनिक बैंकिङ कारोबार व्यवस्थापन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
