काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसर पारेर दराजसँगको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजको एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
२०८३ असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् सन् २०२६ अक्टोबर १ देखि १२ सम्म सञ्चालन हुने यस अफरमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछन्। डेबिट कार्डमार्फत खरिद गर्दा अधिकतम १ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत खरिद गर्दा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।
अफरको लाभ लिन ग्राहकले सर्वप्रथम दराजको एपमा रहेको ‘मेगा दशैं डिस्काउन्ट्स १०.१०’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलन गरिएको भाउचर ग्राहकको दराज प्रोफाइलमा रहेको ‘माई भाउचर्स’ सेक्सनमा सुरक्षित हुनेछ।
त्यसपछि ग्राहकले कम्तीमा १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा भुक्तानी प्रक्रियाका क्रममा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट वा क्रेडिट कार्ड चयन गर्नुपर्नेछ। सिद्धार्थ बैंकको सम्बन्धित कार्डमार्फत भुक्तानी गरेपछि ग्राहकले तोकिएको छुट प्राप्त गर्न सक्नेछन्।
दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने बैंकले विश्वास लिएको छ।
यस अफरले दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा तथा आर्थिक लाभ प्रदान गर्नुका साथै डिजिटल बैंकिङको प्रयोग प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ।
अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।
