नेपाल पूँजी बजारमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अघि सारेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन) निर्देशिकालाई प्रमुख लगानीकर्ता संघ–संस्थाहरूले पूर्ण समर्थन जनाएका छन्।
पाँच वटा प्रमुख लगानीकर्ता संघसंस्थाहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सेबोनसँग उक्त निर्देशिका यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन्। विज्ञप्तिमा चेतावनी दिइएको छ कि आईजीन निर्देशिका कार्यान्वयन नभए पूँजी बजारमा भइरहेको दुरुपयोग झनै बढ्नेछ।
संयुक्त विज्ञप्तिमा उल्लेख छ कि केही कम्पनीका संस्थापक लगानीकर्ताहरूले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको गलत प्रयोग गर्दै संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गरिरहेको पाइएपछि गम्भीर समस्या उत्पन्न भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संस्थापक सेयर बिक्रीमा देखिएको विकृति गम्भीर छ। यसको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने आवश्यकता छ।’
लगानीकर्ताहरूले संस्थापक र सर्वसाधारण सेयरका लागि फरक–फरक आईजीन नम्बर तोक्ने व्यवस्थालाई स्वागतयोग्य र दूरदर्शी कदमको रूपमा लिएका छन्। साथै, कम्पनीको आईपीओ वा हकप्रद सेयर स्वीकृत गर्नुअघि कम्पनीको सुशासन, जोखिम बहन क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यावसायिक योजना गहिरो अध्ययन गर्नुपर्ने माग गरेका छन्।
विज्ञप्तिमा उल्लेख छ, ‘केही संस्थापकहरू तीन वर्ष नपुग्दै कम्पनीबाट बाहिरिन खोज्ने प्रवृत्तिले पूँजी बजारमा विश्वासको संकट सिर्जना गरेको छ। त्यसैले यस्तो प्रवृत्ति नियन्त्रण गर्न आवश्यक नीति तथा कानुन निर्माण गर्न सेबोनले अग्रसरता लिनुपर्छ।’
यसैबारे लगानीकर्ता संघसंस्थाहरूले आईजीन निर्देशिका कार्यान्वयनमार्फत पूँजी बजारमा विश्वास र पारदर्शिता कायम हुने अपेक्षा व्यक्त गरेका छन्।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            