यस हप्ताको नयाँ घोषणाबीच एप्पलले आफ्ना नयाँ आईफोन १७ र आईफोन एयर मा विशेष सुरक्षा प्रविधि पनि सार्वजनिक गरेको छ। एप्पलका अनुसार यो प्रविधि निगरानी उपकरण बनाउने कम्पनीहरू र तिनीहरूले प्रायः प्रयोग गर्ने कमजोरीहरू रोक्नका लागि डिजाइन गरिएको हो।
यो सुविधालाई मेमोरी इन्टेग्रिटी एन्फोर्समेन्ट (एमआईई) नामले चिनिन्छ र मेमोरी करप्सन बग रोक्न बनाइएको हो। यस्ता बगहरू जासुसी सफ्टवेयर बनाउने कम्पनी र प्रहरी प्रशासनले प्रयोग गर्ने फोन फरेन्सिक उपकरणहरूका लागि मुख्य कमजोर पक्ष मानिन्छ।
एप्पलले ब्लगमार्फत भनेको छ, “आईओएस मा प्रयोग हुने भाडाका स्पाइवेयर चेनहरू विण्डोज र एण्ड्रोइड लक्षित गर्नेहरूसँग समान हुन्छन्। ती सबैले मेमोरी सुरक्षा कमजोरी प्रयोग गर्छन्, जुन शक्तिशाली र अदल-बदल गर्न मिल्ने खालका हुन्छन् र पुरै उद्योगमै पाइन्छ।”
साइबरसुरक्षा विज्ञहरूले बताए अनुसार नयाँ प्रविधिले एप्पलका नयाँ फोनहरूलाई संसारकै सबैभन्दा सुरक्षित उपकरण बनाउन सक्छ। यसले स्पाइवेयर बनाउने कम्पनीहरूलाई शून्य-दिन (जिरो-डे) कमजोरी विकास गर्न गाह्रो बनाउने अपेक्षा गरिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
एक सुरक्षा अनुसन्धानकर्ताले भने, “आईफोन १७ अहिले इन्टरनेटमा जडित सबैभन्दा सुरक्षित कम्प्युटिङ वातावरण भएको छ।” उनका अनुसार एमआईई ले नयाँ फोनका लागि कमजोरी विकास गर्न बढी समय र लागत चाहिनेछ, जसले मूल्य पनि बढाउनेछ।
जर्मनीको हासो प्लाटनर इन्स्टिच्युटकी प्राध्यापक जिस्का क्लासेनले पनि एमआईई लागू भएपछि निगरानी प्रविधि विकास गर्ने लागत बढ्ने बताइन्। उनले भनिन्, “केही समयसम्म केही स्पाइवेयर कम्पनीसँग आईफोन १७ का लागि काम गर्ने कमजोरी नहुने सम्भावना छ।