अख्तियारमा गोली हान्ने मान्छे कि कुलिङ ?

संघीय निजामती सेवासम्बन्धी विधेयकका प्रस्तावित केही प्रावधानउपर सत्ता साझेदार दलबीच नै एकमत नभएपछि जेठ १ गते बिहीबार बेलुका बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताको भेला डाकिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र समिति सभापति रामहरि खतिवडासहित कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजू राणा र गृहमन्त्री रमेश लेखक सहभागी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री रघुजी पन्त, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल एमालेबाट उपस्थित देखिन्थ्यो ।

अनेक पृष्ठभूमि र सन्दर्भ जोड्दै प्रधानमन्त्री कुनै हालतमा कुलिङ पिरियड राख्न सहमत नभएपछि खतिवडाले राजीनामा दिन्छु भनेको र देउवाले रोक्नुपरेको थियो । यस्ता बैठकहरूमा कम बोल्ने र उस्तै परे ‘मेरो पनि त्यही हो’ भनेर मुन्टो हल्लाउने उहाँले आफैँँ अघि सरेर डेढ वर्षको मध्यमार्गी प्रस्ताव गर्नुभयो ।

कांग्रेस, माओवादीलगायत सबै दल एकमत हुँदा पनि ओली कुलिङ पिरियडको विपक्षमा किन होला ? सचिवहरूका लागि संवैधानिक नियुक्तिको बाटो बन्द हुनेगरी कानुन बनाउँदा योग्य व्यक्ति छनोट गर्न नसकिने तर्क उहाँले बालुवाटार बैठकमा बारम्बार दोहोर्‍याउनुभएको समाचार स्रोत बताउँछ ।

प्रधानमन्त्रीले आफ्नै शैलीमा मुखै फोरेर भन्नुभयो– ‘निर्वाचन गराउने ठाउँमा गुलेली हान्ने मान्छे राख्ने हो र १’ उहाँको थप जिकिर थियो– ‘६० वर्षको उमेरमा कोही रिटायर्ड हुन्छ । दुई वर्ष कुलिङ पिरियड राखेपछि ६२ वर्ष भैहाल्यो, अनि संवैधानिक पदमा नियुक्तिका लागि ६५ वर्षको उमेर हद तोकिएको छ । ६ वर्ष खाने पदमा तीन वर्षका लागि को जाने रु’

जवाफमा रामहरि खतिवडाले ५२ वर्षमै कर्मचारीले अवकाश लिइरहेको र क्षमतावान व्यक्ति बाहिरबाट पनि लिन सकिने उपाय सुझाएका थिए ।प्रधानमन्त्रीले संवैधानिक निकायमा योग्य व्यक्तिलाई ठाउँ दिन कुलिङ पिरियड राख्न नहुने तर्क गरे पनि तथ्यले भने त्यसो भन्दैन । विगतको नजिर हेर्ने हो भने बरु आफ्ना मान्छेलाई नियुक्ति दिने बाटो कानुनी रूपमै बन्द हुने भएपछि उहाँमा चिन्ता थपिएको हो कि भन्ने देखिन्छ ।

अहिले अख्तियार, निर्वाचन, महालेखा, वित्त आयोगका प्रमुखहरू एमालेनिकट छन् । ओली अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सचिवबाट अवकाश पाएलगत्तै उनीहरूलाई नियुक्ति दिइएको थियो ।

त्यसैले अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न राजनीतिक नियुक्तीमा गोली हान्ने मान्छे कि कुलिङ ? भन्ने बहस भएको छ ।