महिलामुखी कस्मेटिक तथा जडीबुटी उद्योग वर्तमान अवस्था, सम्भावना र सुधारका उपाय महिला उद्यमी महासंघ नेपालको दृष्टिकोणबाट महिला उद्यमी महासंघ नेपाल नेपालभरका महिला उद्यमीलाई सशक्त बनाउने साझा राष्ट्रिय सञ्जाल हो । अध्यक्षको जिम्मेवारीमा रहेका वेला हिमाली, पहाडी तथा तराई क्षेत्रका महिला उद्यमीसँग प्रत्यक्ष संवाद हुँदा स्पष्ट देखिएको यथार्थ के हो भने महिलाहरू कृषि, खाद्य सेवा, कपडा तथा प्राकृतिक कस्मेटिक क्षेत्रमा सक्रिय रूपमा संलग्न छन् । विशेषतः हिमाली र पहाडी भेगमा पाइने जडीबुटी, वनस्पति, प्राकृतिक तेल तथा फूलहरू आन्तरिक स्वास्थ्य र बाह्य सौन्दर्य दुवैका लागि अत्यन्त उपयोगी छन् ।
अहिले केही महिला उद्यमीले आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न थालेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन हुने जडीबुटीमा आधारित कस्मेटिक तथा स्वास्थ्यसम्बन्धी उत्पादनहरू हाल गर्मी मौसममा विशेष रूपमा लोकप्रिय बन्दै गएका छन् । एलोभेरा (घिउकुमारी), निम, तुलसी, गुलाव, चन्दन, जटामसी, अमला र विभिन्न हिमाली जडीबुटी प्रयोग गरी बनाइने फेसवास, फेसक्रिम, सनस्क्रिन, कपालको तेल, हर्बल साबुन तथा हर्बल पेय पदार्थहरू छाला, कपाल र समग्र स्वास्थ्यका लागि लाभदायक मानिन्छन् ।
प्राकृतिक र रासायनिक तŒवरहित उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको वर्तमान अवस्थामा नेपाली हर्बल उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुन थालेका छन् । विशेष गरी गर्मी मौसममा छाला संरक्षण, शरीर शीतलता र सौन्दर्यका लागि प्रयोग गरिने यी उत्पादनहरू विदेशमा समेत लोकप्रिय भइरहेका छन् ।
यदि नेपालमा उत्पादन, गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र प्रमाणीकरणमा थप लगानी र व्यवस्थित योजना लागू गर्न सकियो भने नेपाली हर्बल उत्पादनहरू विश्वव्यापी बजारमा प्रतिस्पर्धी र विश्वासयोग्य ब्रान्डका रूपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको छ । यसरी प्राकृतिक स्रोत र परम्परागत ज्ञानमा आधारित नेपाली हर्बल उत्पादनहरू भविष्यमा ‘विश्वव्यापी रूपमा लाभदायी प्राकृतिक सौन्दर्य उत्पादन’का रूपमा परिचित हुन सक्ने आधार तयार हुँदै गएको छ । र हरबेधाजस्ता प्राकृतिक कस्मेटिक कम्पनीहरूले प्रयोग गर्ने धेरै कच्चा पदार्थ नेपालमै उपलब्ध छन् । यसले नेपालमा ठुलो सम्भावनायुक्त प्राकृतिक कस्मेटिक बजार विकास गर्न सकिने स्पष्ट संकेत गर्दछ । साथै, धेरै महिला उद्यमीहरू ब्युटी पार्लर सञ्चालन गर्दै घरेलु कस्मेटिक, जडीबुटी चिया, डिहाइड्रेटेड हर्बल चिया तथा प्राकृतिक पेय पदार्थ उत्पादन तथा प्रयोगमा संलग्न छन्, जुन बजारमा लोकप्रिय बन्दै गएको छ ।
ग्रामीण महिलाहरू परम्परागत जडीबुटी तथा प्राकृतिक सामग्रीमा आधारित उत्पादनमा संलग्न भए पनि अधिकांश उत्पादन घरेलु वा सानो स्तरमै सीमित छ । व्यवसायीकरण, प्रविधिमा पहुँच, वित्तीय स्रोत तथा बजारको सीमितताका कारण महिलामुखी उद्यमशीलता अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । स्थानीय तहबाट तालिम तथा क्षमता विकास कार्यक्रमहरू सञ्चालन भइरहे पनि ती प्रायः अल्पकालीन हुने र निरन्तर प्रविधि हस्तान्तरणको अभाव देखिने गरेको छ ।
यस अवस्थामा सुधारका लागि नीतिगत तथा संरचनागत सुधार अपरिहार्य देखिन्छ । महिलामुखी लघु तथा घरेलु उद्योगका लागि कर छुट तथा विशेष अनुदान कार्यक्रम आवश्यक छन् । स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गर्न सहयोग पु¥याइनुपर्छ । संरचनागत रूपमा ग्रामीण तहमा उत्पादन केन्द्र तथा प्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै जडीबुटी तथा कस्मेटिक कच्चा पदार्थ संकलन, भण्डारण तथा प्रशोधनका लागि सहकारी वा क्लस्टर मोडल प्रवद्र्धन गर्न आवश्यक छ । साथै, डिजिटल पहुँच तथा अनलाइन मार्केटिङ प्रणालीको विकासले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
महिलामुखी रोजगारी र उद्यमशीलता विस्तार
जडीबुटी, प्राकृतिक तेल तथा स्थानीय कच्चा पदार्थलाई कस्मेटिक उद्योगसँग जोड्दा महिलामुखी रोजगारी विस्तार गर्न सकिन्छ । ग्रामीण महिलाले उत्पादन गर्ने जडीबुटी, फूल, तेल तथा वनस्पतिलाई व्यवस्थित रूपमा संकलन गरी प्रोसेसिङ प्रणाली विकास गर्नु आवश्यक छ । उत्पादन प्रविधि, गुणस्तर नियन्त्रण, स्वच्छता तथा ब्रान्डिङमा लक्षित तालिमले उत्पादनलाई व्यावसायिक बनाउन मद्दत पु¥याउँछ । सामूहिक उत्पादन तथा बजार पहुँचका लागि महिला सहकारी तथा उद्यम क्लस्टर गठन गर्न सकिन्छ । डिजिटल मार्केटिङ, इ–कमर्स प्लेटफर्म तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रदर्शनीमार्फत उत्पादनको प्रचारप्रसार गर्दा बजार दायरा फराकिलो बनाउन सकिन्छ ।
बजार विस्तारका चुनौती र समाधान
ग्रामीण महिलाद्वारा उत्पादित उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदा विभिन्न चुनौती देखिन्छन् । गुणस्तर तथा प्रमाणीकरण प्राप्त गर्न कठिनाइ हुनु, बजार पहुँच तथा वितरकसँग प्रत्यक्ष सम्पर्कको कमी, कच्चा पदार्थको मौसमी उपलब्धता तथा अस्थिर आपूर्ति र ऋण, अनुदान तथा लगानीमा सीमित पहुँच प्रमुख चुनौती हुन् । यी चुनौती समाधानका लागि सरकार, निजी क्षेत्र र महासंघ/सहकारीबिच सहकार्य आवश्यक छ । सरकारले प्रमाणीकरण तथा गुणस्तर सुधारमा अनुदान तथा महिला उद्यमीका लागि कर छुट र विशेष वित्तीय योजना ल्याउनुपर्छ । निजी क्षेत्रले बजार विकास, ब्रान्डिङ तथा लगानी सहयोग गर्दै अन्तर्राष्ट्रिय ट्रेड फेयर तथा निर्यात च्यानल निर्माणमा भूमिका खेल्न सक्छ । महासंघ तथा सहकारी संस्थाले तालिम, नेटवर्किङ तथा क्लस्टर मोडल सञ्चालन गर्नुका साथै साझा गोदाम, प्रोसेसिङ सेन्टर तथा सामूहिक ब्रान्डिङ प्रणाली विकास गर्न सक्छन् ।
गुणस्तर, ब्रान्डिङ र प्रमाणीकरणको महत्व
गुणस्तर ग्राहक विश्वासको आधार हो भने ब्रान्डिङ बजारमा छुट्टै पहिचान निर्माण गर्ने माध्यम हो । प्रमाणीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न आवश्यक आधार तयार गर्दछ । महिलालाई सक्षम बनाउन नियमित तालिम तथा कार्यशाला सञ्चालन, डिजिटल प्लेटफर्ममार्फत ब्रान्डिङ तथा बिक्री, साझा प्रयोगशाला तथा प्रोसेसिङ सेन्टरको व्यवस्था र प्रमाणीकरण खर्चमा सरकारी वा सहकारी सहयोग प्रदान गर्न आवश्यक छ ।
दीर्घकालीन रणनीति
दीर्घकालीन रूपमा उत्पादन तथा स्रोतको क्लस्टर विकास, महिला क्षमता विकास (उद्यमशीलता, प्रोसेसिङ वित्तीय योजना, ब्रान्डिङ, डिजिटल मार्केटिङ), मूल्य शृंखला विकास (कच्चा पदार्थ, प्याकेजिङ, बजार), नीति तथा वित्तीय सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन तथा अनुसन्धान र नवप्रवर्तन (विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य) मा जोड दिनुपर्छ ।
महिला उद्यमी महासंघ नेपाल को नेतृत्वमा पालिका, सरकार, निजी क्षेत्र तथा सहकारीबिच प्रभावकारी सहकार्य गर्न सकियो भने ग्रामीण महिलालाई जडीबुटी तथा प्राकृतिक कस्मेटिक उद्योगमा दीर्घकालीन रूपमा जोड्न सकिन्छ । यसले महिलालाई रोजगारी मात्र प्रदान गर्दैन, नेपालको प्राकृतिक स्रोत तथा परम्परागत ज्ञानलाई आर्थिक मूल्यमा रूपान्तरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने आधार तयार गर्दछ ।
शोभा ज्ञवाली, निवर्तमान अध्यक्ष, महिला उद्यम महासंघ नेपाल