अछाममा सवारी साधन दुर्घटना २ जनाको मृत्यु- अन्य तीन जना गम्भिर घााइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

हिजो शुक्रबार राति दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान मृत्यु भएको हो ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो ।
प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गएराति ११ बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमै उपचार भइरहेको छ । घाइते हुनेहरूमाः सिराहा जिल्ला, कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षका सन्त कुमार साह शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।