अघिल्लो दिन ४ अंक घटेको शेयर बजार आज सोमबार १२.२६ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा बजारले बढ्ने संकेत देखाए पनि १५ मिनेट पनि टिकेन । सवा ११ बजेपछि दिनभर नेप्से रातो अंकमा रह्यो ।
आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । ७३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १२ को स्थिर रह्यो । उत्पादनबाहेक सबै समूहका सूचक झरे । उत्पादन ०.११ प्रतिशत बढ्यो ।
अन्य समूह सबैभन्दा धेरै १.८२ प्रतिशत घट्यो । त्यस्तै व्यापार १.४२, निर्जीवन बीमा ०.९१, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.२९, लगानी ०.३४, हाइड्रोपावर ०.४९, होटल तथा पर्यटन ०.४४, फाइनान्स १.२६, विकास बैंक ०.५४ तथा बैंकिङ ०.०२ प्रतिशत घटे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ६११.४० रुपैयाँ तथा एपोलोको ५२३.९० रुपैयाँ पुगेको छ । सयपत्री हाइड्रोपावरको ३.९१, एसवाई प्यानलको ३.९१ तथा दोल्ती पावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ७.९४ प्रतिशत घट्यो । रावा इनर्जीको ७.०६, सेन्ट्रल फाइनान्सको ५.९२, नेपाल पुनर्बीमाको ४.१३ तथा नेपाल फाइनान्सको ३.४९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, सिटी होटल र सेन्ट्रल फाइनान्स छन् ।
