इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रहरी प्रमुख फेरिएसँगै चोरहरूको भागाभाग भएको छ । एउटै ब्यक्ति पटक पटक एउटै अभियोगमा पक्राउ परेका छन् । चोरीका घटना बढिरहेका छन् । चोरहरू पनि पक्राउ परिरहेका छन् ।
बनेपामा डिएसपी राकेश थापा छन् । उनी उपत्यका अपराध अनुसन्धानमा रहेर उत्कृष्ट कार्य गरेका अधिकृत हुन् । एसपी रविन कार्की जिल्ला प्रमुख छन् ।
सूचना अधिकारीसमेत रहेका डिएसपी रविन विष्टले जिल्लाको समग्र वस्तुस्थितिका बारेमा सहजिकरण गरिरहेका छन् । जिल्लामा एकै पटक २०र२५ वटा घरमा समेत चोरी भएको छ ।
वर्षौदेखि फ्रुटीमा केही पदार्थ मिसाएर बेहोस बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सँगै नक्कली डलर देखाएर सक्कली रुपैयाँ ठगी गर्नेहरू पनि समातिएका छन् । बस चढेर पाकेट मार्नेहरूलाई पक्राउ गरिएको छ । प्रहरीको अभियानलाई भने अदालतले सहज बनाएको छैन ।
अदालतले छाडिदिन्छ । प्रहरी पक्राउ गर्छ । चोरहरू फेरी जेलबाट छुटेर त्यहि पेशामा सक्रिय हुन्छन् ।
रामेछाप घर भएका विशाल तामाङविरुद्ध २०८१ सालदेखि जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त ठिमी तथा जिल्ला प्रहरी परिसर ललितपुरमा गरी १९ वटा चोरी मुद्दा दर्ता भइसकेका छन् । तर ती अधिकांश मुद्दामा उनी धरौटी वा तारेखमा छुट्दै आएका थिए ।
प्रहरीका अनुसार यही कारण उनी अपराधको श्रृंखलाबाट बाहिरिन सकेनन् । यो गिरोह पक्राउ पर्नुको कारण बनेको घटना २०८३ जेठ १० गतेको हो । दिउँसो करिब १ बजे भक्तपुरको सूर्यविनायकमा विशाल तामाङ, सुदीप भण्डारी, साधुराम भुजेल र सुरज राई भेटिए । उनीहरूले त्यहीँ धुलिखेल घुम्ने बहानामा बस चढेर चोरी गर्ने योजना बनाए ।
बस आइपुग्नेबित्तिकै चारै जना फरक–फरक सिटमा बसे । पार्वती सञ्जेलले भाडा तिर्न झोलाबाट पैसा निकाल्दा उल्लेख्य रकम रहेको विशालले देखे । त्यसपछि चारैजनाबीच सांकेतिक सल्लाह भयो । अनुसन्धानमा खुलेअनुसार सुदीप भण्डारीले बसको पछाडिको दाहिने भागमा मानिसहरूको गतिविधि नियाले ।
साधुरामले बायाँतर्फका यात्रुलाई छेक्ने र निगरानी गर्ने जिम्मा लिए । विशालले बीच भागमा उभिएर यात्रुको आवतजावत रोक्ने काम गरे । अवसर मिल्नेबित्तिकै सुरजले पार्वतीले बोकेको लेडिज ब्यागभित्रबाट पहेँलो हाते पर्स चोरी गरे । यसरी बनेपा पुग्दासम्म हरायो ३२ हजार ५ सय रूपैयाँ ।
पार्वती कोटेश्वरबाट बस चढेर दिउँसो १ः४६ बजे बनेपा–८ पुलबजार नजिक पुग्दा पर्स हराएको थाहा पाइन् । उनले तत्काल हल्ला गरेपछि चालकले बस रोके । यात्रुहरूले खोजी गर्न थाले । तर त्यतिबेलासम्म गिरोह ओर्लेर भागिसकेको थियो । स्थानीयले केही दूरीसम्म लखेटे ।
प्रहरीले आसपासका क्षेत्रका सिसिटिभी फुटेज संकलन गर्यो । उता, बनेपामा महिला तथा पुरुषलाई बेहोस बनाएर लुटपाट गर्ने गिरोह पनि सक्रिय हुन थाल्यो ।
सिसिटिभी फुटेजका आधारमा ०८३ जेठ १६ गते दिउँसो ४ बजे प्रहरीले विशाल तामाङसहित गिरोहका सदस्यलाई पक्राउ ग-यो । उनीहरू फेरि अर्को लुटपाटको उद्देश्यले धुलिखेल जाने बस चढ्न लागेका थिए । गिरोहका सदस्यहरूले वास्तविकता लुकाउन फरक–फरक नाम प्रयोग गर्ने गरेका थिए ।
विशाल तामाङ – पासाङ, सुदीप भण्डारी, सुमन क्षेत्री, साधुराम भुजेल – सादुराम राजनीतिक कार्यक्रममा पनि उनीहरू सक्रिय देखिन्छन् ।
उनिहरूले चलाउने गरेको टिकटक आईडीमा जिल्लाको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामालाई स्वागत गरिरहेको र उनको भाषण सुनिरहेको भिडियो छ । पक्राउ परेको चार दिनपछि उक्त आइडी डिएक्टिभ गरिएको छ ।
विशाल तामाङसँग गाडी चलाउने सीप छ । वैध ड्राइभिङ लाइसेन्स पनि छ । दुई वर्षअघि आफ्नै गाउँमा बोलेरो चलाउने काम गर्थे । काठमाडौं आएपछि ट्यांकर चलाए ।
पछि पेट्रोल पम्पमा काम गरे । तर प्रहरीका अनुसार संगत परिवर्तनसँगै चोरीको संसारमा प्रवेश गरे । ०७८ सालमा बौद्ध प्रहरी वृत्तबाट मोबाइल चोरी अभियोगमा पक्राउ परी धरौटीमा रिहा भए । २०८२ सालमा भक्तपुरबाट चोरी गर्दा ३० हजार रूपैयाँ धरौटीमा छुटे ।
गिरोहका अर्का सदस्य सुदीप भण्डारी एक वर्षअघि दुबईमा थिए । २०८२ साल जेठमा फर्किएका हुन् । साधुराम भुजेलविरुद्धको पनि आपराधिक इतिहास छोटो छैन ।
२०७९ सालदेखि भक्तपुर, काठमाडौं, नयाँ बानेश्वर बनेपामा उनीमाथि ज्यानमार्ने उद्योग र चोरीसम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छन् । ती सबैमा उनी धरौटीमा छुटेका थिए । पहिले पनि सजायँ पाइसकेका थिए सुदीपले । भक्तपुर जिल्ला अदालतले २०८१ जेठ ७ गते सुदीप भण्डारीलाई डाँका चोरी मुद्दामा ६ महिना कैद र १० हजार रूपैयाँ जरिवाना गरिसकेको थियो ।
पासाङ भन्ने विशाल तामाङ काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा चोरीका १९ वटा मुद्दा खेपिरहेका पात्र हुन् । उनीमाथि चोरीसम्बन्धी २० औँ मुद्दा अदालतसम्म पुगेको छ ।
२०८३ असार ११ गते बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलाशले उनी धरौटी माग गर्ने आदेश गरेको छ ।
जनआस्थाबाट साभार
