नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र पार्टीभित्र तथ्य एवम् तर्कमा आधारित खुला संवादको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्रीको उपस्थितिविना संसद्को औचित्यमाथि प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले ऐतिहासिक थलो खुलामञ्चको महत्त्व दर्शाउँदै पुराना जननेताहरू बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र पूर्वसभापति शेरबहादुर देउवाको योगदानको स्मरण गरे।
सम्बोधनका क्रममा थापाले संसद्को वर्तमान कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरे। “हामीलाई पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ, तर संसद् आज खुला छैन, बन्दप्रायः छ,” उनले भने, “संसद्मा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति नहुँदासम्म त्यो वास्तविक रूपमा खुला र जीवन्त हुन सक्दैन।”
सभापति थापाले एक पुस्ताले अर्को पुस्तासँग खुला रूपमा संवाद गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। उनले प्रतिक्रिया र प्रतिशोधको राजनीतिभन्दा माथि उठेर तथ्य र तर्कका आधारमा बहस गर्ने खुला थलो सिङ्गो देश र पार्टीभित्र आवश्यक रहेको बताए।
महाधिवेशनको बन्द शत्र भोली चल्ने छ ।
