‘जागिर खोज्ने होइन, सिर्जना गर्ने उद्यमी बनौँ’ : स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवाली

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार

पोखरा । युवालाई जागिर खोज्ने मानसिकताबाट बाहिर निकालेर रोजगारी सिर्जना गर्ने उद्यमी बनाउनुपर्नेमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले जोड दिएकी छन्। उनले नेपालमै उपलब्ध स्रोत, साधन, सीप र सम्भावनाको उपयोग गर्न सके युवाका लागि स्वदेशमै उद्यम र रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने बताइन्।

पोखरामा आयोजित स्टार्टअप समिट नेपाल २०२६ मा बोल्दै ज्ञवालीले विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान, सीप र क्षमतालाई नेपालमै उपयोग गर्नुपर्ने बताइन्। युवालाई विदेश नजान आग्रह गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले नेपालमै के गर्न सकिन्छ र कसरी सफल हुन सकिन्छ भन्ने अवसर देखाउन आवश्यक रहेको धारणा राखिन्।

‘हामीले युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने अभियान सुरु गरेका हौँ। हाम्रो प्रयास ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदल्ने हो,’ उनले भनिन्।

उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई उद्यमशीलताबारे जानकारी दिनुपर्ने बताउँदै प्लस टु पूरा गरेपछि विदेश जाने सोच बनाउने युवालाई समयमै स्वदेशमा रहेका सम्भावना र अवसरबारे बुझाउनुपर्ने उल्लेख गरिन्।

ज्ञवालीका अनुसार नेपालका सातवटै प्रदेशको आर्थिक, भौगोलिक र व्यावसायिक सम्भावना फरक–फरक छन्। गण्डकीमा पर्यटन, आतिथ्य सेवा र स्थानीय उत्पादनको सम्भावना रहेजस्तै अन्य प्रदेशमा कृषि, जडीबुटी, उद्योग, प्रविधि तथा सेवामूलक व्यवसायको सम्भावना छ। त्यसैले स्थानीय स्रोत, बजार र आवश्यकताका आधारमा उद्यम विकास गर्नुपर्ने उनको भनाइ छ।

व्यवसाय सुरु गर्न चाहने युवालाई व्यावसायिक योजना निर्माण, लगानीको खोजी, बैंक तथा वित्तीय संस्थासँगको पहुँच, ब्रान्डिङ, प्याकेजिङ, लेबलिङ र डिजिटल प्रविधिको प्रयोगबारे मार्गदर्शन गर्ने समिटको उद्देश्य रहेको उनले बताइन्। उत्पादन गरेर मात्र नहुने भन्दै गुणस्तर र बजार व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको जोड थियो।

उनले सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच सहकार्य बढाउन, व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउन र राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आग्रह गरिन्।

सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न भएपछि प्रत्येक प्रदेशबाट चारदेखि पाँचवटा सम्भावनायुक्त स्टार्टअप तथा व्यावसायिक अवधारणा छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना रहेको पनि उनले जानकारी दिइन्। उक्त सम्मेलनमार्फत नेपाली स्टार्टअपलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग जोड्ने र लगानीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ।

ज्ञावालीले पोखरामा आयोजित कार्यक्रममा बोलेको अंशबाट लिइएको ..

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार