बंगलादेशमा फेरी हिंसा बढ्दो :धेरै भागमा आगजनी, तोडफोड र आक्रमण

बंगलादेशमा फेरि हिंसा भड्किएको छ।

भारतमा शरण लिएर बसिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित दल अवाली लिगले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा बंगलादेशको राजधानी ढाकामा धेरैवटा बम विस्फोट भएका छन्।

अनि देशका धेरै भागमा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन्।

यसै क्रममा प्रदर्शनकारीहरूले चटगाउँमा रहेको अघिल्लो अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको पुर्ख्यौली घरमा बुधबार मध्यराति आगजनी गरेका छन्। देशका विभिन्न भागमा रहेका उनको ग्रामीण बैंकका धेरैवटा शाखामा पनि आगो लगाइएको छ।

यसैबिच सत्तारूढ दल बीएनपीले अवामी लिगको आगजनी र विनाशको राजनीति फेरि एकपटक उदांगो भएको टिप्पणी गरेको छ।

आगजनीको भिडिओसहित बीएनपीले सामाजिक सञ्जालमा लेखेको छ, ‘उक्त दलका कार्यकर्ताहरूले मस्जिदका लाउडस्पकिर प्रयोग गरी मानिसहरूलाई जम्मा गरेर तुंगीपाडा प्रहरी चौकीमा आक्रमण गरे र आगो लगाई पूर्ण रूपमा ध्वस्त पारे। उनीहरूले (गोपालगन्ज) जिल्लाभरि बीएनपीका नेता तथा कार्यकर्ताका घरमा पनि आक्रमण र आगजनी गरेका छन्।’