शेयरधनीलाई हकप्रद अवसर खुला

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत २२ गते) देखि आफ्ना विद्यमान शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीमा शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी गरेको हो ।

यसअन्तर्गत कम्पनीले ४० करोड रुपैयाँ बराबरको कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको जनाएको छ । साविकका शेयरधनीहरूले आफूसँग भएको प्रत्येक १ कित्ता शेयर बराबर थप १ कित्ता नयाँ शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार २०८२ माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र यसमा आवेदन दिन योग्य हुनेछन् ।

योग्य लगानीकर्ताहरूले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर खरिद गर्न सक्नेछन् । आवेदन प्रक्रिया आजदेखि सुरु भएको छ र इच्छुक शेयरधनीहरूले २०८३ वैशाख १३ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद शेयरमार्फत पूँजी विस्तार गर्दै आगामी आयोजना तथा लगानी योजना अघि बढाउने लक्ष्य लिएको बताइएको छ ।