काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंको ठमेलस्थित रमदा अन्कोर होटलमा खाना, पेय पदार्थ, स्पा तथा रुम सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकलाई होटलका आतिथ्य तथा मनोरञ्जन सेवाहरू थप सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक र रमदा अन्कोर होटल (Ramada Encore by Wyndham Kathmandu Thamel) बीच विशेष छुट सम्झौता भएको हो।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले होटलका रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ र स्पा सेवा उपभोग गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस सहकार्यले बैंकका ग्राहकलाई होटलका विभिन्न सेवा तथा सुविधामा विशेष सहुलियत प्रदान गर्नेछ।
सम्झौताअन्तर्गत वार्षिक रूपमा होटलमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकहरूले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। त्यस्तै, पारिवारिक जमघट तथा विभिन्न कार्यक्रम आयोजना गर्ने ग्राहकका लागि केक र कर्केज शुल्क नलाग्ने सुविधा पनि उपलब्ध गराइएको छ।
यसैगरी, होटलको रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्ने कुमारी बैंकका ग्राहकले होटलमा एक रातको निःशुल्क रुम सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई लक्षित गरी होटलले ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरेको छ।
होटलका विभिन्न सेवा तथा सुविधा उपभोग गर्दा ग्राहकलाई आर्थिक रूपमा सहजता प्रदान गर्ने उद्देश्यले किस्ताबन्दी सुविधा (ईएमआई) समेत उपलब्ध गराइनेछ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले ग्राहकलाई आधुनिक, प्रभावकारी तथा सहज बैंकिङ अनुभव उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
कुमारी बैंकले ग्राहकलाई थप सरल, सुलभ र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता व्यावसायिक सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
