कामना सेवा बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई सुरक्षा ज्याकेट वितरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सडक सुरक्षा प्रवर्द्धन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङको उर्लाबारीका १५० जना सिटी सफारी चालकलाई उच्च दृश्यता भएका सुरक्षा ज्याकेट वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय तथा स्थानीय ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममार्फत दैनिक रूपमा यात्रु ओसारपसार गर्ने १५० जना सिटी सफारी चालकलाई सुरक्षा ज्याकेट प्रदान गरिएको बैंकले जनाएको छ । कम प्रकाश भएको अवस्था, साँझको समयमा तथा सवारी चाप बढी हुने सडकमा चालकलाई टाढैबाट स्पष्ट रूपमा देख्न सकिने गरी ज्याकेट तयार गरिएको छ । यसले सडकमा चालकको दृश्यता बढाउनुका साथै सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुरक्षा ज्याकेट वितरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसाल, नगरपालिकाका प्रतिनिधि तथा स्थानीय प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दैनिक रूपमा व्यस्त सडकमा यात्रु ओसारपसार गर्ने सिटी सफारी चालकहरूले विभिन्न सडक चुनौतीको सामना गर्नुपर्ने भएकाले उनीहरूको सुरक्षाका लागि उच्च दृश्यता भएका ज्याकेट महत्त्वपूर्ण हुने बैंकको भनाइ छ । विशेषगरी कम उज्यालो भएका स्थान तथा साँझको समयमा चालकलाई अन्य सवारी चालक र पैदलयात्रीले सहजै देख्न सक्ने हुँदा सडक सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

बैंकले यस कार्यक्रममार्फत सिटी सफारी चालकसँगै पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

कामना सेवा विकास बैंकले समुदायका आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सडक सुरक्षा, वित्तीय साक्षरता, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले आफ्नो ‘फ्युचर रेडी’ अर्थात् भविष्यका लागि तयार भन्ने दृष्टिकोणअनुरूप सुरक्षित, समावेशी तथा सामाजिक रूपमा जिम्मेवार समुदाय निर्माणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । उर्लाबारीमा सञ्चालन गरिएको सुरक्षा ज्याकेट वितरण कार्यक्रम पनि बैंकको सोही उद्देश्यअन्तर्गतको एक पहल हो ।