काठमाडौं । तिब्बततर्फबाट आएको भोटेकोशी नदीको बाढीले रसुवाको स्याफ्रुबेशी बजारसहित तल्लो तटीय क्षेत्रमा पुर्याएको जनधनको क्षतिप्रति नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्षले गहिरो दुःख व्यक्त गरेका छन्।
लाङ्टाङ क्षेत्रबाट करिब ७० किलोमिटर माथिल्लो भूभागबाट आएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको खबरले आफू अत्यन्त दुःखी भएको अध्यक्षले बताएका छन्। बाढीका कारण स्थानीयको घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै जनजीवन प्रभावित भएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
बाढीको प्रभाव तल्लो तटीय क्षेत्रका पाँच जिल्लासम्म पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।
अध्यक्षले प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै निकाय, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाज एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
“प्राकृतिक विपत्तिले पुर्याएको क्षति केवल भौतिक संरचनाको क्षति मात्र होइन, यसले परिवारको सपना, श्रम र वर्षौँको मेहनतमा समेत चोट पुर्याउँछ। यस्तो दुःखद् घडीमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिई राज्य र समाज सबैले साथ दिनुपर्छ,” अध्यक्षले भनेका छन्।
उनले सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै पूर्वसतर्कता, उद्धार तयारी र प्रभावित क्षेत्रमा तत्काल राहत व्यवस्थापनलाई प्राथमिकता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
