एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भारतको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सहकार्य गर्दै आफ्ना डेबिट तथा क्रेडिट कार्डवाहकलाई स्वास्थ्य उपचारमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ ।

नेपालबाट उन्नत स्वास्थ्य उपचारका लागि भारत जाने नेपाली नागरिकलाई आर्थिक रूपमा सहजता प्रदान गर्ने उद्देश्यले एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता भएको हो । यस सहकार्यले बैंकका कार्डवाहकलाई भारतका विभिन्न सहरमा रहेका मेदान्त अस्पतालबाट सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।

यस सम्झौताअन्तर्गत एभरेष्ट बैंकका योग्य कार्डवाहकले मेदान्त अस्पतालका विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त छुट भारतका नयाँदिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडालगायत प्रमुख सहरमा रहेका मेदान्त अस्पतालका १३ वटा शाखामा लागू हुनेछ ।

सम्झौताअनुसार अस्पतालको बहिरङ्ग सेवा (ओपीडी), अन्तरङ्ग सेवा (आईपीडी) तथा स्वास्थ्य परीक्षण प्याकेजमा छुट उपलब्ध हुनेछ ।

बहिरङ्ग सेवाअन्तर्गत चिकित्सकसँगको परामर्श, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाइनेछ । त्यस्तै, अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीले अन्तरङ्ग सेवाअन्तर्गत बेड शुल्क, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवामा पनि उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै मेदान्त अस्पतालले उपलब्ध गराउँदै आएका नियमित निवारक स्वास्थ्य परीक्षण प्याकेजमा समेत १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसले उपचारका लागि मात्र नभई नियमित स्वास्थ्य परीक्षण गर्न चाहने सेवाग्राहीलाई पनि लाभ पुग्ने अपेक्षा गरिएको छ ।

उक्त छुट प्राप्त गर्न बिरामीले मेदान्त अस्पतालमा उपचारपश्चात् तिर्नुपर्ने अन्तिम बिलको भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत नै गर्नुपर्नेछ । छुट प्राप्त गर्न अस्पतालको बिलको सम्पूर्ण भुक्तानी सम्बन्धित एभरेष्ट बैंकको कार्डबाट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

एभरेष्ट बैंकले यस सहकार्यलाई परम्परागत बैंकिङ सेवाभन्दा बाहिर गएर ग्राहकलाई थप मूल्य अभिवृद्धि गर्ने सेवाका रूपमा अघि बढाएको छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य संस्थामा उपचार गराउन जाने नेपाली सेवाग्राहीलाई आर्थिक सहुलियत प्रदान गर्दै सहज स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने बैंकको उद्देश्य रहेको छ ।

भारतमा उन्नत स्वास्थ्य उपचारका लागि जाने नेपाली नागरिकलाई लक्षित यस सहकार्यले एभरेष्ट बैंकका कार्डवाहकलाई स्वास्थ्य उपचार तथा परीक्षणमा लाग्ने खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।