लुम्बिनी र जनकपुर तथा काठमाण्डु र विराटनगर भिड्दै, हेड टु हेडमा कुन टोली बलियो ?

  • Clock icon
    २०८३ कार्तिक १९, बिहीबार

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे सुरु हुनेछ ।

आज बिहीबारको खेलमा चारवटै टोलीका लागि महत्वपूर्ण दुई अंक जोड्ने अवसर हुनेछ । विशेषगरी साविक विजेता लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने जनकपुर अघिल्लो खेलमा व्यहोरेको हार बिर्संदै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । त्यस्तै, काठमाण्डु र विराटनगर पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने योजनामा हुनेछन् ।

तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेको छ । टोलीले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ । पाँच अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ ।

लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । त्यसपछि चितवन राइनोजसँगको खेल वर्षाका कारण टससमेत नभई रद्द भएको थियो । मंगलबार पोखरा एभेन्जर्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै लुम्बिनीले आफ्नो लय कायम राखेको छ ।

उक्त खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११।४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । यसले लुम्बिनीको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित रहेको देखाउँछ।

अर्कोतर्फ, जनकपुर बोल्ट्सले चार खेल खेल्दा दुईमा जित र दुईमा हार व्यहोरेको छ । चार अंकसहित टोली अंकतालिकाको चौथो स्थानमा छ ।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो । त्यसपछि सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पुनरागमन गरेको जनकपुरले पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो । तर, मंगलबार विराटनगर किङ्ग्ससँग दुई रनको झिनो अन्तरले पराजित भएपछि टोलीलाई धक्का लागेको छ ।
विराटनगरसँग जनकपुरले १७४ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १७२ रन मात्रै बनाउन सकेको थियो । त्यसैले लुम्बिनीविरुद्धको खेल जनकपुरका लागि पुनरागमन गर्ने अवसर हुनेछ ।

यी दुई टोलीबीच एनपीएलका अघिल्ला दुई संस्करणमा दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा दुवै टोलीले एक-एक खेल जितेका छन् ।
पहिलो संस्करणमा जनकपुरले लुम्बिनीलाई एक रनले पराजित गरेको थियो । उक्त खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा लुम्बिनीले आठ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सकेको थियो ।

त्यस्तै दोस्रो संस्करणमा लुम्बिनीले जनकपुरसँग बदला लिँदै चार विकेटको जित निकालेको थियो ।

यसरी अहिलेसम्म भएका दुई भेटमा दुवै टोलीले एक-एक जित निकालेका छन् । त्यसैले बिहीबारको खेलमा जित निकाल्ने टोलीले हेड टु हेडमा अग्रता बनाउनेछ । बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि यो खेल अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने महत्त्वपूर्ण अवसर हो ।

तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजले अहिलेसम्म दुई खेल खेलेको छ । जसमा एक खेलमा जित र अर्को खेलमा हार व्यहोरेको छ ।

दुई अंकसहित काठमाण्डु सातौं स्थानमा छ । काठमाण्डुले आफ्नो पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम दुई बल बाँकी रहँदा लक्ष्य पूरा गरेको काठमाण्डुले उक्त जितबाट आफ्नो क्षमता देखाएको छ ।

उता, विराटनगर किङ्ग्सले चार खेल खेल्दा दुईमा जित र दुईमा हार व्यहोरेको छ । चार अंकसहित विराटनगर अंकतालिकाको दोस्रो स्थानमा छ ।

विराटनगरले पछिल्ला दुई खेलमा लगातार जित निकालेको छ । टोलीले पाँच ओभरमा खेलाइएको प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो । त्यसपछि मंगलबार जनकपुर बोल्ट्सलाई दुई रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।
जवाफमा जनकपुरले १७२ रन मात्रै बनाउन सक्यो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा विराटनगरले अन्तिमसम्म दबाब कायम राख्दै जित निकालेको थियो ।

यी दुई टोलीबीच पनि एनपीएलका अघिल्ला दुई संस्करणमा दुई पटक भेट भएको छ । जसमा दुवैले एक-एक खेल जितेका छन् ।
पहिलो संस्करणमा भएको खेलमा काठमाण्डु गोर्खाजले विराटनगरलाई एक विकेटले पराजित गरेको थियो । विराटनगरले पहिले ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।

जवाफमा काठमाण्डुले १८.१ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
त्यस्तै, दोस्रो संस्करणमा सन् २०२५ नोभेम्बर २२ मा भएको खेलमा विराटनगरले काठमाण्डुलाई पाँच विकेटले हराएको थियो । काठमाण्डुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

जवाफमा विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसरी दुई संस्करणमा भएका दुई भेटमा दुवै टोलीले एक एक जित निकालेका छन् । बिहीबारको खेल जित्ने टोलीले हेड टु हेडमा अग्रता बनाउनेछ ।

 

 

 

 

रातोपाटीबाट साभार