घरेलु कामदारमा विदेश जान खुला गरौं – सरकारी अध्ययन समितिको सुझाव

भिजिट भिसाका नाममा हुँदै आएको मानव तस्करी न्यूनीकरणका लागि घरेलु कामदारका रूपमा विदेश जान पाउने व्यवस्था खुला गर्न सरकारद्वारा गठित एक समितिले सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको संयोजकत्वमा गठित समितिले घरेलु कामदारका रूपमा विदेश जान नपाइने भएपछि मानव तस्करहरूले भिजिट भिसालाई माध्यम बनाएको निष्कर्ष निकालेको हो ।

रूपान्तरित संसद् (संविधान जारी भएपछि बाँकी कार्यकाल)को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ चैत २० गते दिएको एक निर्देशनले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान बन्देज लगाएपछि भिजिट भिसालाई एउटा विकल्पको रूपमा स्थापित गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत वैशाख २२ गते गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु देउवा समेत सहभागी बैठकले समिति गठन गरेको थियो ।

सहसचिव खड्का नेतृत्वको समितिमा श्रम मन्त्रालयका सहसचिव जीवलाल भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव कृष्णप्रसाद भुसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र अध्यागमनका तत्कालीन महानिर्देशक गोविन्दप्रसाद रिजाल सदस्य थिए ।

समितिलाई श्रम आप्रवासन तथा वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको शीघ्र न्यूनीकरणका लागि तत्कालीन र अल्पकालीन समाधानका उपायहरू सहित एक महिनाभित्र रायरसुझाव पेश गर्न भनिएको थियो ।