काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै सागर ढकाल ले वस्तुगततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी घोषणा गर्दै ढकालले देशको अर्थतन्त्र सुधार, व्यवसायीमैत्री नीति निर्माण र निजी क्षेत्रका समस्या समाधानका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महासंघभित्र बसेर वस्तुगत संघअन्तर्गत रहेका व्यवसायीका कानुनी तथा व्यवहारिक समस्या समाधानका लागि सरकारसँग प्रभावकारी बहस, पैरवी र नीतिगत पहल गर्ने स्पष्ट योजना प्रस्तुत गरेका छन्।
ढकालले विशेषगरी नेपालको पुँजी बजारलाई सुदृढ र विश्वसनीय बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। उनका अनुसार हाल करिब ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको पुँजी बजार अब देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित हुनुपर्ने समय आएको छ। “करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण भएको पुँजी बजारलाई केवल सीमित कारोबारको क्षेत्र नभई समग्र अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्नुपर्छ,” उनले बताए।
पुँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन आवश्यक कानुनी सुधारतर्फ पनि उनले जोड दिएका छन्। धितोपत्र ऐन २०६३ तथा यसअन्तर्गतका नियमावलीहरूलाई समयानुकूल परिमार्जन गर्दै बजारको आवश्यकता अनुसार अद्यावधिक गर्न आफूले पहल गर्ने उनको भनाइ छ। साथै मार्जिन कारोबार, दिनभित्रै खरिद–बिक्री (इन्ट्रा डे ट्रेडिङ), सर्ट सेलिङ तथा इक्विटी डेरिभेटिभ्सजस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय गर्ने उनले स्पष्ट पारेका छन्।
त्यसैगरी, कमोडिटी बजार, विदेशी मुद्रा कारोबार र बहुमूल्य धातु (बुलियन) कारोबारका लागि विनिमय केन्द्र स्थापना गर्ने दिशामा नियामक निकाय र लगानीकर्ताबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
साना तथा मझौला उद्यमीहरूलाई पुँजी जुटाउन सहज बनाउनेतर्फ पनि ढकालले विशेष ध्यान दिएका छन्। उनले साना तथा मझौला उद्यमका लागि विशेष कारोबार मञ्च (एसएमई प्लेटफर्म) तथा वैकल्पिक बजार (ओटी मार्केट)लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन्, जसले नयाँ उद्यमीलाई बजारमा प्रवेश गर्न सहज वातावरण तयार गर्ने विश्वास व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयमा पनि उनले स्पष्ट दृष्टिकोण राखेका छन्। गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई नेपाली पुँजी बजारमा आकर्षित गर्न सहज र स्पष्ट नीति निर्माणका लागि सरकारसँग पहल गर्ने उनको योजना छ।
पुँजी बजारसँगै जलविद्युत, होटल तथा पर्यटन, कृषि लगायतका विविध क्षेत्रमा सक्रिय रूपमा आबद्ध रहेका ढकालले आफ्नो अनुभवलाई समग्र व्यवसायिक क्षेत्रको हितमा प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
उनको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा नभई समग्र निजी क्षेत्रको आवाजलाई सशक्त बनाउने प्रयासका रूपमा लिइएको छ। “समृद्ध अर्थतन्त्र, सुदृढ पुँजी बजार र व्यवसायीमैत्री वातावरण निर्माण हाम्रो साझा लक्ष्य हो,” भन्ने सन्देशसहित उनले सम्पूर्ण व्यवसायी समुदायसँग सहयोग र समर्थनको अपेक्षा गरेका छन्।