कोशीलाई डिजिटल प्रविधिको केन्द्र बनाउने अभियान सुरु

विराटनगर । कोशी प्रदेशलाई सूचना प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक गरिएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेश तथा मोरङ, सुनसरी र उदयपुर जिल्ला शाखाको सहकार्यमा आयोजित डिजिटल नेपाल विकेन्द्रीकरण संवाद कार्यक्रममा उक्त अवधारणा सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रविधि क्षेत्रका अगुवा, व्यवसायी तथा सरोकारवालाहरूले नेपालको सूचना प्रविधि क्षेत्रलाई काठमाडौं केन्द्रित अवस्थाबाट बाहिर ल्याई प्रदेशस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। सो अवसरमा कोशी प्रदेशलाई सूचना प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र डिजिटल सेवाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन मार्गचित्र समेत प्रस्तुत गरिएको थियो।

क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कोशी क्षेत्र भौगोलिक, औद्योगिक तथा शैक्षिक दृष्टिले सूचना प्रविधिको केन्द्र बन्न सक्ने पर्याप्त सम्भावना बोकेको बताउँदै यस अभियानलाई सफल बनाउन सबै पक्षसँग सहकार्य गर्न तयार रहेको धारणा राखे। उनले प्रदेश सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा प्रविधिसँग सम्बन्धित सरोकारवालाहरूको साझा प्रयासबाट मात्रै डिजिटल रूपान्तरणको लक्ष्य हासिल गर्न सकिने बताए।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सूचना प्रविधिको विकासलाई अब काठमाडौंमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै कोशी प्रदेशलाई डिजिटल अर्थतन्त्रको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीति, पूर्वाधार र लगानीका कार्यक्रम अघि बढाउनुपर्ने बताए। उनले स्वदेशमै विकसित प्रविधि तथा सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठले प्रस्तुत अवधारणाले कोशी प्रदेशको डिजिटल भविष्यको स्पष्ट खाका दिएको उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्य गरी यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी मोरङ शाखाका अध्यक्ष सुमितकुमार शाहले स्थानीय प्रतिभा, नवउद्यमी र प्रविधि व्यवसायलाई प्रोत्साहन गर्ने नीतिगत पहल आवश्यक रहेको बताए।

सुनसरी शाखाका अध्यक्ष लोकेन्द्रप्रसाद ढकालले स्थानीय स्तरका सूचना प्रविधि व्यवसायी र उद्यमीलाई प्रोत्साहन गर्न सके प्रदेशको डिजिटल अर्थतन्त्र थप सशक्त बन्ने धारणा राखे भने उदयपुर शाखाका अध्यक्ष राजन आचार्यले सूचना तथा सञ्चार प्रविधिको बलियो आधार तयार नगरी डिजिटल विकासको लक्ष्य हासिल गर्न कठिन हुने बताए।

कार्यक्रममा प्रस्तुत अवधारणाअनुसार विराटनगर, इटहरी र धरानलाई एउटै बृहत् प्रविधि करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। औद्योगिक पूर्वाधार, व्यापारिक गतिविधि, शैक्षिक संस्थाको उपलब्धता तथा प्रशासनिक पहुँचका कारण कोशी प्रदेश सूचना प्रविधि उद्योगको नयाँ केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

यस अभियानले स्वास्थ्य, कृषि, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता तथा सार्वजनिक सेवासँग सम्बन्धित प्रविधि विकासलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। साथै स्वदेशमै विकसित प्रविधि र सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने वातावरण तयार गर्दै रोजगारी सिर्जना, उद्यमशीलता विकास र डिजिटल अर्थतन्त्र विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आगामी दिनमा विशेष कार्यदल गठन गरी स्थानीय सूचना प्रविधि कम्पनी, स्वतन्त्र रूपमा काम गरिरहेका प्राविधिक तथा नवउद्यमीहरूको तथ्यांक संकलन गर्ने तथा प्रदेशस्तरमा डिजिटल पूर्वाधार विकासका कार्यक्रम अघि बढाइने जनाइएको छ। सहभागीहरूले कोशी प्रदेशलाई सूचना प्रविधि र नवप्रवर्तनको अग्रणी केन्द्र बनाउने लक्ष्यमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।