कहिलेकाहीँ एउटा प्रश्नले संसारलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ—मानिसले मानिसलाई जित्न हतियार नै किन उठाउनुपर्छ? हतियारले शरीरलाई पराजित गर्न सक्छ, तर मन जित्न सक्दैन।
डरले मानिसलाई केही समय चुप लगाउन सक्छ, तर स्थायी शान्ति दिन सक्दैन। हिंसाले प्रतिशोध जन्माउँछ, प्रतिशोधले अर्को हिंसा। अनि यही चक्रमा मानिसले मानिसलाई गुमाउँदै जान्छ।
आजका ज्येष्ठ नागरिक भोलि हामी नै हौँ
त्यसैले अक्टोबर २ केवल एउटा अन्तर्राष्ट्रिय दिवस होइन। यो मानव सभ्यताले आफूलाई आफैँसँग सोध्ने दिन हो—हामी कस्तो समाज र कस्तो संसार बनाउन चाहन्छौँ !
आज अक्टोबर २ भारतका स्वतन्त्रता आन्दोलनका नेता तथा अहिंसात्मक प्रतिरोधका विश्वप्रसिद्ध अभियन्ता महात्मा गान्धीको जन्मदिन हो।

संयुक्त राष्ट्रसंघको महासभाले १५ जुन २००७ मा प्रस्ताव ६१-२७१ पारित गर्दै हरेक वर्ष अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
यसको उद्देश्य शिक्षा र जनचेतनामार्फत अहिंसाको संस्कृति, शान्ति र सहिष्णुतालाई प्रवर्द्धन गर्नु हो।
तर गान्धीलाई सम्झनुको अर्थ उनको तस्वीरमा फूल चढाउनु मात्र होइन। उनले देखाएको बाटो हाम्रो व्यवहारमा कति बाँकी छ भन्ने प्रश्न गर्नु हो।
नेपालले हिंसा देखेको छ, शान्तिको बाटो पनि रोजेको छ
अहिंसाको कुरा गर्दा नेपाल आफ्नै इतिहासबाट धेरै कुरा सिक्न सक्छ। नेपालले एक दशक लामो सशस्त्र द्वन्द्वको पीडा भोग्यो।
राज्य र तत्कालीन नेकपा माओवादीबीच चलेको द्वन्द्व २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म रह्यो। हजारौँ परिवार प्रभावित भए, मानिस मारिए, बेपत्ता पारिए, विस्थापित भए र असंख्य परिवारले आफ्ना प्रियजन गुमाए।

तर त्यसपछि नेपालले हतियारको बाटोबाट राजनीतिक सहमति र शान्तिको बाटो रोज्यो।
२०६३ मंसिर ५ अर्थात् २१ नोभेम्बर २००६ मा विस्तृत शान्ति सम्झौता भयो। यसले सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियाको बाटो खोल्यो।
सम्झौताले मानवअधिकार, लोकतन्त्र, राजनीतिक सहमति र दीर्घकालीन शान्तिलाई केन्द्रमा राखेको थियो।
यो नेपालको इतिहासमा अहिंसाको एउटा महत्वपूर्ण पाठ हो—वर्षौँको हिंसापछि पनि संवाद सम्भव हुन्छ, राजनीतिक असहमतिको समाधान हतियारबाट मात्र खोज्नुपर्दैन।
तर शान्ति सम्झौता हुनु र समाजमा पूर्ण शान्ति स्थापित हुनु एउटै कुरा होइन। द्वन्द्वका घाउ अझै धेरै परिवारमा बाँकी छन्।
त्यसैले सत्य, न्याय, क्षतिपूर्ति र मेलमिलापको प्रश्न पनि अहिंसाकै अर्को अध्याय हो। द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनाको सत्य अन्वेषण र पीडित तथा परिवारका लागि न्याय र मेलमिलापको वातावरण बनाउन सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिएको छ।
शान्ति भनेको गोली नचल्नु मात्र होइनस पीडितले आफ्नो पीडा बोल्न पाउनु र समाजले त्यसलाई सुन्न सक्नु पनि हो।

वास्तवमा भन्ने हो भने हिंसा युद्धभूमिमा मात्र हुँदैन घरमा पनि हुन्छ । हामी अहिंसा भन्नासाथ युद्ध र बन्दुक सम्झिन्छौँ। तर हाम्रो वरिपरि हुने धेरै हिंसा बन्दुकबिनै हुन्छ। घरमा श्रीमतीमाथि हात उठाउनु हिंसा हो।
बालबालिकालाई डर र कुटपिटबाट अनुशासन सिकाउनु हिंसा हो। जातका आधारमा मानिसलाई अपमान गर्नु हिंसा हो। महिला वा कमजोर व्यक्तिको आवाज दबाउनु हिंसा हो।
सामाजिक सञ्जालमा फरक विचार राख्ने व्यक्तिलाई गाली र धम्की दिनु पनि हिंसात्मक संस्कृतिकै हिस्सा हो। त्यसैले अहिंसा केवल ‘कसैलाई नपिट्नु’ होइन।
अहिंसा भनेको असहमत हुँदा संवाद गर्न सक्नु हो। विरोध गर्दा पनि मानव मर्यादा कायम राख्नु हो। अन्यायको प्रतिरोध गर्दा पनि घृणालाई आफ्नो शक्ति नबनाउनु हो। अहिंसा कमजोरी होइन, संयमित शक्ति हो।
हामी बुद्धको जन्मभूमि नेपाल भनेर गर्व गर्छौँ। लुम्बिनी हाम्रो पहिचान हो। शान्ति र सहअस्तित्वको सन्देश हाम्रो सांस्कृतिक स्मृतिको हिस्सा पनि हो।
तर बुद्धको नाम लिनु मात्र पर्याप्त छैन। घरमा आमाबुबा र छोराछोरीबीच संवाद कस्तो छ? श्रीमान्–श्रीमतीबीचको सम्बन्ध कस्तो छरु विद्यालयमा शिक्षकले विद्यार्थीलाई कसरी व्यवहार गर्छन्?
राजनीतिक असहमतिको जवाफ हामी कसरी दिन्छौँरु सामाजिक सञ्जालमा फरक विचार देख्दा हामी संवाद गर्छौँ कि गाली यो प्रश्न उठिरहन्छ सधैभरी सबै स्थानमा ।
यही व्यवहारले नेपाल अहिंसाको देश हो कि होइन भन्ने निर्धारण गर्छ।
मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म, गाउँको चौतारीदेखि महानगरको डिजिटल संसारसम्म एउटा संस्कार आवश्यक छ—असहमति हुन सक्छ, तर घृणा आवश्यक छैन। विरोध हुन सक्छ, तर हिंसा आवश्यक छैन।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा रहेको Non-Violence’ अर्थात् ‘Knotted Gun’ कलाकृति पनि यही सन्देशको शक्तिशाली प्रतीक हो।
स्विडेनी कलाकार कार्ल फ्रेडरिक रुटर्सवार्डले बनाएको यस कलाकृतिमा पेस्तोलको नाल गाँठो पारिएको छ। बन्दुक छ, तर गोली चल्दैन।
हतियारको शक्ति भन्दा त्यसलाई नचलाउने विवेक ठूलो हुन सक्छ।
नेपालको सन्दर्भमा पनि यही प्रश्न महत्वपूर्ण छ—हामीसँग रिस छ भने के त्यसको उत्तर हिंसा नै हुनुपर्छरु हामीसँग राजनीतिक असहमति छ भने के त्यसको उत्तर प्रतिशोध नै हुनुपर्छरु
हाम्रो शान्ति प्रक्रिया स्वयं यसको उत्तर हो—संवाद कठिन भए पनि सम्भव हुन्छ।
अब मुस्कानको बाटो रोजौँ
अहिंसा कुनै ठूलो भाषणबाट सुरु हुँदैन। यो हाम्रो दैनिक व्यवहारबाट सुरु हुन्छ।
सामाजिक सञ्जालमा घृणा होइन, जिम्मेवार भाषा प्रयोग गर्नुहोस्। र जहाँ अन्याय भइरहेको छ, त्यहाँ निडर भएर अहिंसात्मक रूपमा आवाज उठाउनुहोस्।
किनभने मौन बस्नु र अहिंसा एउटै कुरा होइन। अहिंसा अन्याय स्वीकार गर्नु होइनस अन्यायको प्रतिरोध गर्ने मानवीय बाटो हो।
नेपालले हिंसाको मूल्य चुकाइसकेको छ। अब आउने पुस्तालाई त्यसको पुनरावृत्ति होइन, संवादको संस्कार दिनुपर्छ।
द्वन्द्वबाट शान्तितर्फ आउन सक्ने नेपालले घरभित्रको हिंसा, सामाजिक विभेद, राजनीतिक घृणा र डिजिटल आक्रोशबाट पनि अहिंसातर्फको यात्रा गर्न सक्छ।
यसका लागि सरकारको नीति मात्र पर्याप्त हुँदैन। परिवार बदलिनुपर्छ, विद्यालय बदलिनुपर्छ, राजनीतिक संस्कृति बदलिनुपर्छ र हामी प्रत्येकको भाषा बदलिनुपर्छ।
अहिंसा दिवसको सन्देश यही हो—शान्ति बाहिर खोज्ने होइन, आफूबाट सुरु गर्ने।
