पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै न्यायिक क्षेत्रको आमूल सुधारका लागि पहल गर्न आग्रह गरेको छ।
फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाभित्र देखिएका विवाद, केही न्यायाधीशहरूको आचरण र न्यायिक नेतृत्वको भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
‘न्यायपालिकाको स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् गरिमामय छवि नै धुमिल हुनेगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरूको न्यायिक आचरणविरुद्धका क्रियाकलापबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालसमेतबाट प्रसारित घटना विवरणप्रति यस फोरमको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा छ ।
फोरमले न्यायपालिकाको गरिमा जोगाउने जिम्मेवारी न्यायाधीशहरूको मात्र नभई राज्यका सबै जिम्मेवार निकाय र सरोकारवालाको भएको उल्लेख गरेको छ।
फोरमले न्यायिक स्वतन्त्रता र निष्पक्षता कायम राख्न न्यायाधीशहरू स्वयं आफ्नो आचरणप्रति सचेत हुनुपर्नेमा जोड दिएको छ।
न्यायिक स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, सक्षमतालगायतका मूल्य न्यायपालिकाका आधारभूत मान्यता भएको उल्लेख गर्दै फोरमले न्यायाधीशहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यायिक स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, सक्षममता, समानता र लगनशीलता नै आचारसंहिताका आधारभूत तत्वहरू हुन्।’
न्यायाधीशहरूले आफ्नो व्यावसायिक इमानदारी र आचरणबाट जनमानसमा न्यायपालिकाप्रतिको विश्वास कायम राख्नुपर्ने फोरमको भनाइ छ।
त्यस्तै, न्यायालयभित्र देखिने भ्रष्टाचारजन्य गतिविधि वा विकृति र विसंगतिविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
फोरमले न्यायपालिकामा देखिएका समस्याको समाधान सामान्य सुधारबाट मात्र सम्भव नहुने संकेत गर्दै संरचनागत सुधारको विषयसमेत उठाएको छ।
विवादमा परेका न्यायाधीशहरूको सम्बन्धमा संविधान र कानुन उल्लंघन भए–नभएको, कार्यक्षमताको अभाव रहे–नरहेको तथा खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन भएको–नभएको विषयमा तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा छ , ‘संविधान र कानुनको उल्लंघन भए नभएको, कार्यक्षमताको अभाव रहे नरहेको, खराब आचरण गरे नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन हुने कार्य भए नभएको आदि विषयमा तथ्यगत प्रमाण विद्यमान रहेको छ छैन भन्ने तर्फ सचेत रही संवैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्छ।’
फोरमले वर्तमान न्यायपालिकामा पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिसमेतका माध्यमबाट आमूल सुधारको सम्भावनाबारे सरोकारवालाबीच छलफल सुरु गर्न पनि आग्रह गरेको छ ।
फोरमले न्यायपालिकाभित्र उत्पन्न हुने विवाद र विकृतिलाई नियन्त्रण गर्न न्यायिक नेतृत्वको भूमिका प्रभावकारी हुनुपर्ने जनाएको छ।
व्यक्तिगत स्वार्थ, राजनीतिक संरक्षण तथा अनुकूल निर्णयको अपेक्षाका आधारमा न्यायिक नेतृत्व चयन गर्ने प्रवृत्तिले न्यायपालिकाको विश्वसनीयतामा असर पार्न सक्ने फोरमले उल्लेख गरेको छ ।
