सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह बालेनका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको पाइएको हो।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री बालेनको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।
कात्तिक १५ मा थापाले बालेन सरकारविरुद्ध आक्रमक अभिव्यक्ति दिएपछि निगरानी बढाएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेनले गत आइतबार साँझ ७ बजेतिर स्टाटस् लेखेर एक दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए। ‘सही समय आएपछि, सबैको गलत समय आउछ,’ शाहले लेखेका थिए, ‘एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’
सोमबार साँझ ६ बजे थापाले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री शाहलाई जवाफ फर्काउँदै लेखेका थिए– ‘अहिले ठीक १८:०० बजेको छ,’ थापाले भनेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
एक जना डीएसपीको टोलीले सभापति थापाका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको र हिजो बुधबार आईजीपीबाट कार्कीलाई हटाएसँगै त्यो झन् बढेको पाइएको सचिवालयका सदस्यहरूको भनाइ छ।
सभापति थापाको सचिवालयका एक सदस्यले हिजो बुधबार साँझ सञ्चारमाध्यमलाई भने, ‘हाम्रो घर, सम्पर्क कार्यालय, पार्टी कार्यालय र भेटघाट गरिराख्ने ठाउँमा प्रहरीले निगरानी गरिराखेको छ। न्यौपाने थरका डीएसपीको टोलीले चार(पाँच दिनदेखि हामीलाई पछ्याइराखेको छ र, अहिले निगरानी झन् बढेको छ।’
उनको भनाइमा अस्ति मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदा पनि थापालाई प्रहरीले निगरानी गरिरहेकै थियो।
सुरक्षा निकायका एक जना उच्च अधिकारीले पनि प्रधानमन्त्री शाहको टिममा कांग्रेस सभापति थापालाई पक्राउ गर्नेबारे छलफल भइरहेको सुइँको पाएको बताए।
‘आईजीपी फेरेसँगै अबका केही दिनमै केही मान्छे पक्राउ गर्ने प्रधानमन्त्री कार्यालयको तयारी देखिन्छ। कांग्रेस सभापति गगन थापामाथि निगरानी बढाएको पनि त्यसैका लागि हो जस्तो छ’, ती सुरक्षा अधिकारी भन्छन्।
तिहारअगाडि केही मान्छे पक्राउ गर्ने योजना अनुसार नै हिजो बुधबार आईजीपी दानबहादुर कार्कीलाई हटाइएको एक सुरक्षा अधिकारी बताए।
‘दानबहादुर कार्कीलाई हटाउने कुरामा प्रधानमन्त्री प्रस्ट हुनुहुन्थ्यो। तर, शुक्रबारसम्म हटाउने भन्ने थियो। तिहारअघि नै केही नेताहरू पक्राउ गर्न बुधबार नै कार्कीलाई हटाउने निर्णय भएको हो’, ती अधिकारीले थपे।
इनमको बयानबारे सोधपुछको नाममा थापालाई केही दिन प्रहरी हिरासतमा राख्ने प्रधानमन्त्री कार्यालयको प्रारम्भिक तयारी देखिएको सुरक्षा स्रोतहरूको भनाइ छ।
थापानिकट कांग्रेसका एक नेताले भने, ‘मंगलबार साँझ नै समात्ने तयारी थियो रे। प्रधानमन्त्रीको सचिवालयमा कुरा नमिल्दा नसमातेको भन्ने जानकारी हामीले पाएको छौँ। तर, कुनै पनि बेला प्रहरीले समात्न सक्छ भन्नेमा हामी प्रस्ट छौँ। यिनीहरूको भय र भ्रमको शासनसँग डराउने कुरा छैन।’
सरकारले आफूलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने सुइँको पाएका थापाले त्यस्तो अवस्थामा चाल्ने रणनीतिबारे पार्टीभित्र आन्तरिक छलफल र परामर्श तीव्र पारेका छन्। बुधबार पार्टीका शीर्ष नेतासँग छलफल गरेका थापाले आज बिहीबारका लागि पदाधिकारीको बैठक नै बोलाएका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध कानुनी र राजनीति प्रतिवादमा उत्रिने बताएका छन्। पार्टी आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग कांग्रेसले गरेको छ।
कांग्रेसले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्याउन उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।
आङ्देम्बेले मंगलबार विपक्षी दलसँग छलफल गरेका थिए। सरकार लोकतन्त्र विरोधी कदमविरुद्ध संसदमा एकमतका साथ प्रस्तुत हुने विपक्षीको निष्कर्ष छ।
यता भुसालले पार्टी र नेतृत्वविरुद्ध सरकारबाट षड्यन्त्र भइरहेको भन्दै कानुनी परामर्श अगाडि बढाएकी छन्।
