गण्डकी । प्राचीन व्यापारिक नाकाका रूपमा परिचित बन्दीपुर अहिले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विगतमा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट आउने सामानको प्रमुख व्यापारिक केन्द्र रहेको बन्दीपुर २०२५ सालमा सदरमुकाम दमौली सारिएपछि आफ्नो व्यापारिक पहिचानबाट पर्यटन केन्द्रतर्फ रूपान्तरण भएको हो।
सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिएको यस स्थानलाई तत्कालीन राजा महेन्द्रले “पहाडकी रानी” उपमा दिएका थिए। प्राचीन शैलीका घर, टुँडिखेल, खड्गदेवी मन्दिर तथा वरपरका रमणीय दृश्यहरूले बन्दीपुरलाई अझ आकर्षक बनाएका छन्। साथै, मर्स्याङ्दी नदी र उकालो बाटोको चर्चा समेटिएको “बन्दीपुरे उकाली लामो…” गीतले पनि यसको सांस्कृतिक पहिचानलाई झल्काउँछ।
बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यही वैशाख १८ र १९ गते प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, बन्दीपुर गाउँपालिका र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको संयुक्त आयोजनामा हुने मेलाको उद्देश्य गाउँ पर्यटनलाई बजारसँग जोड्नु रहेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार मेला मार्फत साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेलाई ठूला एजेन्सी तथा सहरी बजारसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना गरिनेछ। साथै, निजी तथा सरकारी लगानी बढाउने लक्ष्य पनि राखिएको छ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँ पर्यटन, संस्कृति र व्यवसायिक प्रवर्द्धनलाई एकैसाथ अघि बढाउने गरी कार्यक्रम आयोजना गरिएको बताए। मेलामा पर्यटनसम्बन्धी प्रचार सामग्री वितरण, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक होमस्टे प्रवर्द्धनका कक्षहरू रहनेछन्।
बन्दीपुर–व्यास क्षेत्रलाई समेटेर ‘होमस्टे सर्किट’ निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ, जसमा मोहोरिया, रामकोट, कुलुङ, केशवटार, रुम्सी, धरमपानी, कमलाबारी र कोरिखा जस्ता क्षेत्र समेटिने छन्।
पर्यटन क्षेत्रमा हालसम्म ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। भ्रमण वर्ष २०२५ मा ६ लाख २५ हजार पर्यटक भित्रिएकोमा आगामी ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६ मा ७ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
स्थानीय होमस्टे सञ्चालकका अनुसार मेलाले अर्गानिक खाना, रैथाने संस्कृति र परम्परागत जीवनशैलीलाई प्रवर्द्धन गर्नेछ। गण्डकी प्रदेशभर ५० भन्दा बढी होमस्टे सञ्चालनमा रहेका छन्, जसले ग्रामीण पर्यटनको विस्तारमा योगदान पुर्याइरहेका छन्।
